काठमाडौं– प्रदर्शनको संघारमा रहेको फिल्म ‘माइकल अधिकारी’ ले प्रचारका लागि प्रदेश १ का विभिन्न ठाउँमा कन्सर्ट आयोजना गरेको छ। फिल्मको निर्माण पक्षले शनिबार र आइतबार प्रदेश १ को विर्तामोड र विराटनगरमा कन्सर्ट गरेको हो।
सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको यो फिल्ममा सेरोगेसीको विषयलाई समेटिएको छ। अर्काको बच्चा आफ्नो गर्भमा लिने विषयमा बनेको फिल्म कथावस्तुका कारण पछिल्लो समय चर्चामा रहेको छ।
फिल्म प्रदर्शन हुन लागेको बेला निर्माण पक्षले विर्तामोडको वान स्टप मल र विराटनगरको सेन्ट्रल मलमा कन्सर्ट गरेको हो। कार्यक्रममा फिल्मको गीतमा कलाकारहरुले प्रस्तुति दिएका थिए।
निरक पौडेलको निर्माण तथा रञ्जित रौनियारको निर्देशनमा बनेको यो फिल्म झापा र इलाममा छायांकन गरिएको छ।
फिल्ममा सौगात र सृष्टिसँगै आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दिलीप बोहरा, केन्द्र भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ।
फिल्म भदौ ३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।