फाइल तस्बीर
काठमाडौं– उपत्यकाको फोहोर फाल्ने ल्यान्डफिल्ड साइट जाने बाटोमा टिप्परले किचेर बाख्रा मरेपछि स्थानीयले फोहोरका गाडी रोकेका छन्।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार स्थानीयले बाख्राको क्षतिपूर्ति माग गरेर बाटो अवरोध गरिरहेका छन्।
‘कागती गाउँमा एउटा बाख्रा मरेको छ। त्यसै कारण फोहोर फाल्नको लागि अवरोध देखिएको हो,’ उनले भने, ‘अहिले हामी उक्त समस्या समाधान गर्नको लागि लागिरहेका छौ। प्रहरीसँग स्थानीयले कुरा गर्न नमानेपछि अहिले महानगरको टोली अवरोध भएको स्थानमा जाँदै छ।’
साउन २८ गते फोहोर बोकेर १५२ वटा गाडीहरू बन्चरे डाँडा ल्याण्डफिल साइटमा पुगेका थिए। आइतबारदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बन्चरे पुर्याउने योजना बनाइएको थियो।
यसका साथै शनिबार मुट्खुमा पहिरो गएकाले काठमाडौंबाट फोहोर बोकेर गएका ट्रकले बाटोमा नै फोहोर फ्याकेर फर्किएको विषयले पनि स्थानीयहरूले विरोध गरिरहेका छन्।
‘उक्त गाडी बाटोमा नै फसेकाले फोहोर त्यही फालेर फर्किएको रहेछ। अहिले त्यो फोहोर फेरि उठाएर बन्चरेडाडा नै लैजाने तयारी रहेको छ’, उनले भने।
महानगरका प्रवक्ताका अनुसार आलेटारमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प आइतबारदेखि बन्चरे डाँडामा सारिएको छ। साउन २३ गते राति फोहोर व्यवस्थापनमा प्रयोग हुने साधन तथा उपकरणमा तोडफोड भएपछि सुरक्षा पोस्ट सारिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।