काठमाडौं– स्टार टेनिस खेलाडी नोभाक जोकोभिच अर्को साता सिनसिनाटीमा सुरु हुने हार्ड कोर्ट प्रतियोगिताबाट बाहिरिएका छन्। एन्टी-कोरोना भाइरस भ्याक्सिन नलगाएको भन्दै उनलाई अमेरिकामा यात्रा गर्न रोकेपछि प्रतियोगिता गुमाएका हुन्।
उनले अगस्ट २९ देखि न्यूयोर्कमा हुने वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगिता पनि खेल्न पाउने छैनन्। २१ पुरुष सिंगल्स ग्रान्डस्लाम उपाधि जितेका सर्बियाका ३५ वर्षीय जोकोभिचले आफूलाई केही प्रतियोगितामा खेल्न अनुमति नदिए पनि कोरोनाविरुद्धको खोप नलिने बताएका छन्।
जोकोभिच राफेल नाडाल (२२ ग्रान्ड स्लाम ट्रफी) भन्दा एक उपाधि पछि छन्। जोकोभिचले यूएस ओपन खेल्न आतुर रहेको बताएका छन्। यसका लागि सरकारको नीति परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
तर, अमेरिकी टेनिस संघले सरकारको नीतिको पालना गर्ने बताएको छ। सन् २०१०, २०१५ र २०१८ मा तीन पटक युएस ओपनको उपाधि जितेका जोकोभिच गत वर्ष उपविजेता बनेका थिए। उनी रुसका डेनिल मेदभेदेवसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।