कोलम्बो–श्रीलंकाले चिनियाँ जहाज युआन वाङ–५ (जासुसी जहाज भनेर चिनिने) लाई हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको छ। टाइम्स अनलाइनका अनुसार श्रीलंका सरकारले उक्त जहाजलाई शुक्रबार बन्दरगाहमा रहन स्वीकृति दिएको हो।
युआन वाङ–५ अगस्ट १६ मा हम्बनटोटा अन्तरराष्ट्रिय बन्दरगाहमा आइपुग्ने छ। अगस्ट ११ मा सो विमान त्यहाँ आइपुग्ने बताइएको भए पनि भारतले राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै आपत्ति जनाएपछि केही दिन ढिला भएको टाइम्स अनलाइनले जनाएको छ।
यसअघि चिनियाँ जहाजले इन्धन भर्नका लागि अगस्ट ११ मा हम्बनटोटा बन्दरगाहमा डक गर्ने र अगस्ट १७ मा छोड्ने कार्यक्रम थियो।
यसैबीच श्रीलंकाको विदेश मन्त्रालयले हम्बनटोटा बन्दरगाहमा उक्त जहाजको आगमनलाई ढिलाइ गर्न कोलम्बोस्थित चिनियाँ दूतावासलाई पत्राचार गरेको बताइएको छ।
हालै नोम पेन्हमा भएको द्विपक्षीय बैठकमा दुवै देशका विदेशमन्त्री अली साब्री र वाङ यीले दुवै देशबीचको हार्दिक द्वीपक्षीय सम्बन्धमाथि प्रकाश पारेका थिए। यता भारतले उक्त विमानलाई जासुसी विमानको रूपमा लिँदै यसले भारतीय सुरक्षा संवेदनशीलताको प्रश्न उठाएको छ।
यद्यपि चीनले भने यसलाई अनुसन्धान र सर्वेक्षण जहाजको रूपमा विकास गरिएको दाबी गरेको छ। सो विमान सन् २००७ मा निर्माण गरिएको हो र यसले ११, ००० टन भारबहन क्षमता राख्दछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।