काठमाडौं– नारायण रायमाझीको निर्देशनमा बनेको फिल्म ‘परदेशी २’को प्रदर्शन मिति पूर्व निर्धारित समयभन्दा पछि सरेको छ।
फिल्मको निर्माण पक्षले यसअघि असोज २४ मा प्रदर्शनको तयारी गरिरहेको फिल्म अब फागुन ८ गतेबाट प्रदर्शनमा आउन लागेको हो। यसअघि फिल्मलाई असोज १४ गते प्रदर्शनमा ल्याउनेगरी मिति तय गरिएको थियो।
प्रकाश सपुत, केकी अधिकारी, दिलीप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङजस्ता कलाकारको मुख्य अभिनय रहेको यो फिल्म २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’को सिक्वेल हो।
निर्माण पक्षका अनुसार फिल्ममा केही प्राविधिक कामहरु बाँकी भएकाले पूर्व निधारित समयभन्दा केही पछि प्रदर्शन गर्नु परेको हो।
सामाजिक विषयमा आधारित यो फिल्ममा निर शाह, सविन बास्तोला, देवेन्द बब्लु, रोशनी कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको छ। फिल्मको कथा तथा पटकथालाई रमेश बिजिले लेखेका छन्। फिल्मलाई निर्देशक नारायण रायमाझी र राजेश बन्सल (अग्रवाल)ले निर्माण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।