काठमाडौं– कमनवेल्थ गेम्स–२०२२ मा सहभागिता जनाउन इङ्ग्ल्यान्ड पुगेका दुई पाकिस्तानी बक्सर सम्पर्कविहीन बनेका छन्।
‘द डेली पाकिस्तान’का अनुसार सुलेमान बलोच र नजिरउल्ला नाम गरेका बक्सर सम्पर्कविहीन बनेका हुन्। उनीहरूले कुनै पदक जित्न नसकेको बताइएको छ। अहिले उनीहरूको खोजीकार्य जारी छ।
अन्य खेलाडी घर फर्किनका लागि बसमा चढिरहेका बेला उनीहरू उपस्थित भएका थिएनन्। दुवैको ‘ट्राभल डकुमेन्ट’ पाकिस्तानी खेल अधिकारीसँग छ। बेलायत सरकारलाई यस विषयमा पाकिस्तानी ओलम्पिक कमिटीले जानकारी दिइसकेको छ।
अहिले उनीहरू बर्मिङ्घममा लुकेर बसेको हुनसक्ने आशंका गरिएको छ। बेलायत सरकारले यस विषयमा कुनै जानकारी उपलब्ध नगराएको ‘द डेली पाकिस्तान’मा उल्लेख छ।
उनीहरू हराएको विषयमा पाकिस्तान ओलम्पिक कमिटीले ४ सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ। उनीहरूको बेलायतमा परिवारका अन्य सदस्य छ या छैनन्, यस विषयमा पनि सोधपुछ भइरहेको छ। बेलायतको बर्मिङघममा हालै कमनवेल्थ गेम्स सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।