दाङ–युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरेका छन्। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको बैठकमा सहभागी हुन पुगेका मन्त्री गहतराजले क्रिकेट मैदानमा पुगेर अवलोकन तथा निरीक्षण गर्दै देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई केन्द्र सरकारले पनि सहयोग गर्ने बताए।
‘राजधानीनजिकै भएका कारण पनि अब सरकारले यो मैदानलाई व्यवस्थित नगरी सुक्खै छैन, तपाईंहरु ढुक्क हुनुस्, मन्त्रालयले जति बजेट विनियोजन गर्न सक्छ गर्नेछ,' उनले भने, ‘मैदान निर्माण कार्यमा केन्द्र सरकारले विशेष प्राथमिकताका साथ ध्यान दिनेछ, अब केन्द्रको नजर यो मैदान परिसकेको छ।'
लमही नगरपालिका ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरले उक्त मैदानलाई विशेष प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे। यस्तै नेकपा (माओवादी केन्द्र) का नेता वसन्त शर्मा विक्रान्त, देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेल, लमही नगर विकास समितिका इञ्जिनियर तुलसीराम अर्याल, दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती, दाङ जिल्ला खेलकुद परिषद् प्रदेश सदस्य रवि श्रेष्ठलगायतले मैदानका बारेमा मन्त्री गहतराजलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।