लोसपा अध्यक्ष महन्थ ठाकुर, फाइल तस्बिर
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सत्ता गठबन्धनमा ल्याउने तयारी थालिएको छ। प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहनाअनुसार लोसपालाई गठबन्धनमा ल्याउन छलफल थालिएको हो।
प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका नेताहरु लोसपालाई गठबन्धनमा ल्याउन सकारात्मक छन्। यसबीच प्रधानमन्त्री देउवासहित उनी निकटका नेताहरुले लोसपाका केही नेताहरुसँग छलफल समेत गरिसकेका छन्।
‘गठबन्धन मात्रै होइन, सरकारमा नै सहभागी हुनुहोस् भनेर प्रधानमन्त्रीजीले धेरै पहिलेदेखि नै भन्दै आउनुभएको छ। अहिले पनि उहाँहरु गठबन्धनमा आउनोस् भनिरहनुभएको छ,’ लोसपाका एक नेताले भने, ‘प्रचण्डजी (गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) जापान भ्रमणमा हुनुहुन्छ, उहाँ फर्केपछि थप कुरा गरेर गठबन्धनमा सहभागी होउँ भन्ने उहाँ (प्रधानमन्त्री)को कुरा छ। हामी भने हाम्रा मुद्दामा अडिगै छौं।’
आफूहरुले उठाउँदै आएका मागमध्ये नागरिकतासम्बन्धी समस्याको सन्दर्भमा सरकारले ‘सामान्य सम्बोधन’ गरेपनि अरु मागहरु पूरा नहुँदै अहिले सरकार र गठबन्धनमा सहभागी हुने सम्भावना कम रहेको लोसपाका ती नेताको भनाइ छ।
‘झुटा मुद्दा छन्, ती फिर्ता हुनुपर्यो। अझै पनि हाम्रा नेता/कार्यकर्ता विभिन्न मुद्दामा थुनामा छन्, उनीहरु रिहा हुनुपर्यो,’ ती नेताको भनाइ छ।
सत्ता गठबन्धनको दल नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि लोसपालाई पनि गठबन्धनमा सहभागी गराउने कुरा भइरहेको स्वीकार्छन्।
आगामी निर्वाचनमा गठबन्धनका दलहरुबीच सिट बाँडफाँट तय गर्न गठित कार्यदलको सोमबार बसेको पहिलो बैठकपछि सञ्चारकर्मी बोल्दै मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउने विषयमा शीर्षस्थ तहमा छलफल भइरहेको बताए।
मन्त्री कार्कीले कार्यदलको बैठकमा समेत लोसपालाई समावेश गराउने विषयमा कुरा उठेको उल्लेख गरे। लोसपा सत्ता गठबन्धनमा जोडिने विषयको छलफल सकारात्मक रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।