काठमाडौं। पशुपति क्षेत्रमा अवस्थित किरातेश्वर संगीत आश्रममा मंगलबार साँझ आयोजित सांगीतिक कार्यक्रम अन्य दिनभन्दा फरक थियो। कार्यक्रमको विशेष आकर्षण थिइन् युवा पुस्ताकी शास्त्रीय संगीत साधक सुरभी पौडेल। त्यस दिन सुरभीको संगीत प्रस्तुति जतिजति छिप्पिदै थियो आश्रमका दर्शक दीर्घामा बसेकाको मन–मस्तिस्क पनि आनन्दले भरिँदै थियो।
शुरभीको प्रस्तुति अघि बढ्दै जाँदा आश्रममा उपस्थित दर्शकहरू शास्त्रीय संगीतको मधुरतामा रमाइरहेका देखिन्थे। कार्यक्रममा सुरभीले मात्र प्रस्तुति दिइनन्, उनीसँगै समकालीन तथा अग्रज पुस्ताका संगीतकर्मीले पनि एउटै मञ्चबाट आफ्नो कला प्रस्तुत गरे। झट्ट हेर्दा मञ्चको दृश्य संगीतले दुई फरक पुस्तालाई ‘फ्युजन’ गरेजस्तो देखिन्थ्यो।
कार्यक्रममा तवलावादक विपुल खतिवडा, एकल तवला वादनमा कौशलकुमार उपाध्याय, वेलावादनमा यतिराज अधिकारी, गायनमा मनमोहन थपलिया र तवला संगतमा अनन्त प्रजापति सहभागी थिए।

मञ्चबाट प्रस्तुत भइरहेको प्रस्तुति सुनेर भावुक नेपालीमात्र थिएनन विदेशी पनि ओतप्रोत देखिन्थे। तिनैमध्येकी एक थिइन स्पेनकी मीरा आराध। चलचित्रकर्मीसमेत रहेकी मीराले शास्त्रीय संगीतको प्रस्तुतिबाट आफू प्रभावित भएको बताइन्। यस्तो खालको संगीतले मानसिक रूपमा आनन्द प्रदान गर्ने भन्दै उनले यस्ता कला र प्रतिभालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखिन्।
आधुनिक संगीतले नेपाली समाजमा व्यापक प्रभाव पारिरहेको छ। प्रविधि र बदलिँदो पुस्ताको रुचिसँगै संगीतका शैली र प्रस्तुति पनि फेरिँदै गएका छन्। यही परिवेशमा नेपाली मौलिक तथा शास्त्रीय संगीतको संरक्षण र प्रवद्र्धनमा सक्रिय केही संस्थाहरू पनि छन्। काठमाडौंको पशुपति क्षेत्रमा रहेको किरातेश्वर संगीत आश्रम यस्तै एउटा संस्था हो। आश्रमले शास्त्रीय संगीतको संरक्षणसँगै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्ने प्रयास गरिरहेको छ।

किरातेश्वर संगीत आश्रमका अध्यक्ष मधुसुदन खनालका अनुसार शास्त्रीय संगीत सम्पूर्ण संगीतको मूल आधार हो। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले प्रत्यक्ष प्रस्तुतिमार्फत शास्त्रीय संगीत जनमानससम्म पु¥याउने उद्देश्यले आश्रम स्थापना गरिएको जानकारी दिए।
उनले भने,‘सम्पूर्ण संगीतको मूल आधार नै शास्त्रीय संगीत हो र यही संगीतको विकास र प्रवद्र्धन गर्न तथा जनसमक्ष प्रस्तुत गर्न किरातेश्वर संगीत आश्रमको स्थापना गरिएको हो। उनको भनाइ थियोे, स्रोताले प्रत्यक्ष सुन्न पाएपछि त्यसको महत्व बढछ र यो संगीत लोकप्रीय पनि हुन्छ। त्यसैले किरातेश्वर संगीत आश्रमको स्थापना गरिएको हो। ’शास्त्रीय संगीत भनेको दरबारमा, मन्दिरमा मात्र गाइन्छ भन्ने मान्यता थियो हामीले त्यसमा परिवर्तनको प्रयास गरेका छौं‚’ उनले भने।

नयाँ पुस्तालाई शास्त्रीय संगीततर्फ आकर्षित गर्न आश्रमले हरेक वर्ष बाल शास्त्रीय संगीत प्रतियोगिता आयोजना गर्दै आएको पनि खनालले जानकारी दिए।। प्रतियोगितामार्फत बालबालिकालाई संगीत सिक्ने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिँदै आएको उनको भनाई छ। यसले बालबालिकामा शास्त्रीय संगीतप्रतिको रुचि र जागरूकता बढाएको उनको विश्वास छ।
आश्रमले आयोजना गर्ने यस्ता कार्यक्रमबाट सकारात्मक सन्देश गएको बताउँदै खनालले कार्यक्रममा बालबालिकादेखि युवा र प्रौढसम्मका संगीतप्रेमी सहभागी हुने गरेको बताए। आधुनिक संगीतको प्रभाव बढ्दै गए पनि नेपालमा शास्त्रीय संगीतप्रतिको रुचिमा पनि कमी नआएको खनालको धारणा छ।
त्यस्तै प्रसिद्ध तबलावादक तथा पद्मकन्या क्याम्पसका बाद्यवादन अध्यापन गराइरहेका वदन मण्डलले नेपाली सांगीतिक क्षेत्रमा किरातेश्वर संगीत आश्रमको भूमिका महत्वपूर्ण रहेको बताए। आश्रमले संगीतको क्षेत्रमा पु¥याएको योगदान अविस्मरणीय रहेको उनको भनाइ छ। उनले भने,‘नेपालको सांगीतिक क्षेत्रमा किरातेश्वरले जुन भूमिका खेलेको छ त्यो महत्वपूर्ण छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।