काठमाडौं– स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बी र राकुटेन भाइबरबीच सहकार्य हुने भएको छ।
नेपाल स्पेल बी अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता सञ्चालन गर्ने कम्पनी हो, जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा सञ्चालन गर्ने गरेको थियो। तर, देशको शिक्षा प्रणालीले ‘हाइब्रिड सिकाइ’लाई आत्मसाथ गरेसँगै रियालिटी शो विश्वको अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरको साथ साझेदारीमा प्रवेश गरेको हो।
विगत केही वर्षदेखि राकुटेन भाइबरले नेपालको नयाँ शिक्षा प्रणालीलाई सहयोग गर्न तथा अनिवार्य अनलाइन शिक्षा र हाइब्रीड सिकाइबीचको दूरी कम गर्न सक्रिय भूमिका निभाउँदै आइरहेको छ।
नेपालभरका विद्यार्थीहरूले अब भाइबरको नयाँ स्पेल बी च्याटबटबाट उक्त स्पेलिङ प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराउन सक्नेछन्। पहिलोपटक, दूर्गम क्षेत्रका विद्यार्थीहरूलाई पनि समान अवसर प्रदान गर्ने उद्देश्यका साथ नेपाल स्पेल बीले भाइबरसँगको सहकार्यमा आफ्नो ५औं सिजनको अडिसनलाई डिजिटाइज गर्न लागेको जनाएको छ।
अघिल्ला सिजनहरूका परीक्षा कागजमा आधारित मात्र हुने गर्दा कतिपय योग्य विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने मौका नपाएको पनि आयोजकको ठहर छ। प्रतियोगिताको डिजिटाइजेशन र भाइबरमार्फत् नयाँ एपलिकेशन मोडसँगै, नेपालभरका विद्यार्थीहरूका लागि प्रतियोगितामा सहभागी हुन सजिलो र सुविधाजनक भएको र विगतका भन्दा यस वर्षको प्रतियोगिता वृहत र भब्य रहने नेपल स्पेल बीको विश्वास छ।
च्याटबटको साथै, भाइबरले नयाँ नेपाल स्पेल बी नामक च्यानल पनि सार्वजनिक गरेको छ, जहाँ सहभागी र फ्यानहरूले क्वीज, पोल र मिनी गेमहरूमा सहभागिता जनाउन सक्नेछन्।
कार्यक्रमको लागि दर्ता गर्न योग्य विद्यार्थीहरू १६ वर्षभन्दा माथि र हाल उच्च माध्यमिक तहमा अध्यनरत भएको हुनुपर्ने कम्पनीले जनाएको छ। विद्यार्थीहरूले नेपाल स्पेल बीको च्याट बटमार्फत् आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
च्याटबट भाइबरमा यही अगस्ट १ देखि २० सम्म उपलब्ध हुनेछ। त्यसपछि सर्टलिस्ट गरिएका विद्यार्थीहरूलाई अन–ग्राउन्ड एक्टिभेसनका लागि विभिन्न २४ स्थानमा बोलाइनेछ। त्यसपछि अगष्ट २६ बाट सुरू हुने क्वालिफाइङ राउण्डका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।