काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरेका छन्। उनीहरुको हक हितलाई कायम गर्न पारस्परिक सहयोग र एकताको खाँचो रहेको उनले औंल्याए।
सोमबार काठमाडौंमा २८ औं विश्व आदिवासी दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल बहुजाती,बहुभाषिक, बहु धार्मिक र बहुसांस्कृतिक विविधता भित्रको एकता भन्ने मूल मन्त्रमा रहेको बताए। उनले नेपालमा बहुजाती,बहुभाषि भए पनि त्यसभित्र एक अर्काप्रति सामाजिक सद्भाव र संहिष्णुता अत्यन्त बलियो रहेको बताए।
प्रधानमन्त्री देउवाले नेपालको एकीकरणदेखि आजको अवस्थासम्म आइपुग्दा राष्ट्र निर्माणको विभिन्न चरणमा महत्त्वपूर्ण आन्दोलनमा योगदान रहेको चर्चा गरे। नेपाली कांग्रेसको स्थापना र प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातीहरुको विशेष योगदान रहेको भन्दै उनले प्रशंसा गरे।
नेपालको संविधानले सामाजिक न्याय, आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेको उनले बताए। आदिवासी जनजातिको परम्परागत ज्ञान,सीप र सांस्कृतिक जस्ता कुराले नेपालको पहिचान दिलाएको उनको भनाइ छ।
वर्तमान सरकार संविधानका मौलिक हक अधिकारको कार्यान्वयन गर्न क्रियाशिल रहेको उनले दाबी गरे। प्रधानमन्त्री देउवाले नेपालको संविधानले आदिवासी जनजातिको हक हित सुनिश्चिताका लागि छुट्टै आयोगको व्यवस्था गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।