काठमाडौं– सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा तीन अर्बभन्दा बढी मुनाफा आर्जन गरेको छ। आम्दानी भएको मनाफाबाट शेयरधनीलाई २५.७१ प्रतिशत सेयर आम्दानी दिन सफल भएको बैंकले जनाएको छ।
१७ औं वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंकको हाल चुक्ता पुँजी १२ अर्ब ५२ करोड र २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको छ।
बैंकले आव २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २ अर्ब ९० करोड भन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पुर्याएको बताएको छ।
ग्राहकहरुको बैंकप्रतिको बढ्दो विश्वास र निरन्तर सहयोग र सद्भावकै कारण वित्तीय प्रणालीमा देखापरेको असहज परिस्थितिका बावजुद बैंकले आव २०७८/७९ सम्ममा १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८६ अर्बको कर्जा प्रवाह गरेको छ।
यस्तै गत आवमा २ लाख ५० हजार भन्दा बढी नयाँ ग्राहकहरू बैंकिङ्ग सेवामा आबद्ध गरी कूल १४ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताएको छ।
यसैगरी बैंकले आफ्नो ग्राहकहरुमध्ये ६ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई मोबाईल बैंकिङ्ग सेवा, ५ लाख ४५ हजार भन्दा बढी ग्राहकहरुलाई डेबिट कार्ड सेवा र ३० हजार भन्दा बढी ग्राहकहरुलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।