काठमाडौं– जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति अस्थिर भए देशमा अराजकता र अस्थिरता हुने बताएका छन्।
जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँस्थित नेपाल जनप्रगतिशील मंच जापानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त धारणा राखेका हुन्।
‘विश्व इतिहासले मानव जातीको अनुभवले र विकसित देशका तमाम उदारचढाव र अनुभवले के देखाएको छ भने अन्तत राजनीति नै मुख्य हुन्छ। यदि राजनीति ठिक ठाउँमा भयो भने विकास र समृद्धिको यात्रा ठिक ढङ्गले अघाडि बढ्छ,’ प्रचण्डले भने,‘राजनीति ठिक ढङ्गमा भएन भने अस्थिरता, अराजकता र आर्थिक समृद्धिका लागि बाधक हुन्छ।’
त्यस्तै प्रचण्डले आफ्नो धारणा राख्ने क्रममा गरिब देशको नागरिक भएकाले भोगिने व्यवहार फरक रहेको गुनासो गरेका छन्।
‘दुनियाँको जुनसुकै मुलुकमा जाँदा हामीले अपमान भोगेका छौं। तर समृद्ध देशको नागरिक गरिब नै छ भने पनि त्यसलाई दुनियाँले बडो उच्च सम्मान गर्छ,’ प्रचण्डले भने,‘एयरपोर्टमा जाँदा वा कार्यक्रममा जाँदा धनी देशको नागरिकलाई गरिने व्यवहार र गरिब देशको नागरिकलाई गरिने व्यवहारमा अन्तर हामी सबैले महशुस गर्छौं।’
साउन २१ गते जापान गएका प्रचण्ड साउन २५ गते स्वदेश फर्किँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।