काठमाडौं– नेपाली कांग्रेसका सांसद् प्रकाश रसाइली ‘स्नेही’ ले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले सरकारी निवास नछोडेकोमा आक्रोश व्यक्त गरेका छन्।
आइतबारको प्रतिनिधि सभामा प्रधानन्यायाधीश जबरा माथि लगाएको महाअभियोगका पक्षमा बोल्दै सांसद रसाइलीले निलम्बनमा परेपछि जबराले सरकारी निवास छोड्नु पर्ने बताएका हुन्।
‘एउटा निलम्बित भएको कर्मचारी होस् वा उच्चपदस्थ व्यक्ति होस् सरकारी कार्यालय छोड्नु पर्ने हुन्छ। तर निलम्बित प्रधानन्यायाधीशले गजधम्म तरिकाले प्रधानन्यायाधीशनै हो भनेर निवास नछोडि बसेका छन्,’ रसाइलीले प्रश्न गरेका छन्,‘आफू माथि लागेको आरोपको किनार नलागुन्जेल बाहिर बसेर सहयोग गर्नु पर्दैन?’
त्यस्तै तत्कालीन प्रधानन्यायाधीश जबराले कालोसूचीमा परेको कम्पनीलाई सर्वोच्चको भवन निर्माणको ठेक्का मिलेमतोमा दिएको उनले आरोप लगाए।
‘पाँच अर्बको सर्वोच्चको भवन निर्माणको ठेक्का तीनवटा कम्पनीलाई तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पालामा दिएको छ। बीना पूरी, कालीका र समान्तर,’ रसाइलीले भने,‘कालिकाको विशेष अदालतमा भ्रष्टचार सम्बन्धी मुद्दा थियो। त्यो कम्पनीलाई जबरबाट सेटिङमा ठेक्का दिने काम भएको छ।’
रसाइलीले अदालतमा रहेको भ्रष्टचार र वेथितिलाई सुधार्न उच्च स्तरको न्यायिक आयोगको गठन गर्न माग गरे। ‘अदालतको विकृति, विसंगतीलाई नियन्त्रण गर्न विज्ञहरूको उच्च स्तरीय सुधार आयेग गठन गर्न जरुरी छ,’ रसाइलीले भने।
जबरामाथिको महाअभियोग सही समयमा आएकोले यसलाई सबैको सहमतिमा पारित गर्नु पर्ने उनको भनाइ छ।
प्रतिपक्षी नेकपा एमालेलेप्रति लक्षित गर्दै रसाइलीले ९ महिनासम्म संसद् अबरोध ठिक तर ३ महिना आगाडि मात्र प्रस्तुत भएको जबरा माथिको छलफल ढिला सुरु भयो भन्ने बेठिक कुराको खोजी गर्न पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।