काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का भीमप्रसाद दुलालले कृषि फर्म सञ्चालनका लागि कृषि विकास बैंक समक्ष ऋणको लागि आवश्यक विवरण बुझाए। उनले आफ्नो कृषि फर्मको नवीकरणदेखि करचुक्ता तथा योजनासहितको विवरण बनाएर कृषि विकास बैंक मेलम्ची शाखामा पेस गरे।
बैंकका म्यानेजरहरुले केही दिनभित्र ऋण प्रवाह हुने जानकारी गराए। बैंकका कर्मचारीहरु उनको फर्मसम्म स्थलगत अध्ययनका लागि पनि पुगे। अध्ययनपछि ऋण लागनीको फाइल पनि तयार भयो। तर, एक्कासी सुरु भएको तरलता अभाव भन्दै बैंकले ऋण दिएन। आफ्नो कृषि फर्म विस्तारका लागि सबै तयारी गरिसक्दा बैंकले यस्तो जानकारी दिएपछि उनी अन्योलमा परे।
गत साउनमा उनी केही दिनका कारण ऋण लिनबाट वञ्चित भएका थिए। विवरण बुझाएको एक वर्षसम्म पनि ऋण नपाउँदा समस्यामा परेको दुलालले बताए।
गत वर्ष असारमा हेलम्बु भ्रेमाथाङ पहिरोका कारण समस्यामा परेर लगानीका लागि ऋण लिन लागेका उनी बैंकको तरलता अभावले झन् मारमा परे।
इन्द्रावती गाउँपालिका–४ का अर्जुनप्रसाद दाहालले कृषि कर्जाका लागि नेपाल बैंक लिमिटेडको मेलम्ची शाखामा सबै विवरण बुझाए। उनले आफ्नो पुर्ख्यौली सम्पत्ति राखेर कृषि कर्जामार्फत् केही व्यवसाय गर्न भन्दै ऋणको आवेदन दिएका थिए।
बैंकका कर्मचारीहरुले केहीदिन भित्र ऋण जारी हुने पनि बताएका थिए। तर एक्कासी तरलता अभाव भएको भन्दै स्वीकृत भएको ऋण उनले पाएनन्। उनी बैंकको यो निर्णयसँगै निकै अप्ठ्यारो परेको बताउँछन्।
बैंकले ऋण दिने आसमा उनले केही काम सुरु गरे। तर, एक वर्ष भइसक्दा पनि स्वीकृत भएको ऋण लगानी गर्न सक्ने जानकारी बैंकबाट नआउँदा आफू बाहिरबाट चक्रिय व्याजमा निर्भर हुनु परेको दाहालले बताए। दुलालले पनि लगानीका लागि बैंक भन्दा बाहिरकै पैसाको भर पर्नुपर्दा निकै महँगो ब्याज तिर्नु परेको बताए।
ब्याजदर महँगो भएको कारण व्यवसाय विस्तारका लागि समस्या भएको उनी बताउँछन्। उनीहरु हरेक साता बैंकले गर्ने लगानी गर्ने बारेमा प्रश्न सोध्न पुग्छन्। बैंकले उनीहरुलाई जवाफ दिन्छ, ‘तपाईंहरुलाई खबर गर्छौं’ तर उक्त खबर भने अहिलेसम्म नआउँदा समस्या परेको उनी बताउँछन्।
बाजुरा बडिमालिका नगरपालिकाका गोपाल खड्काले अघिल्लो वर्ष निर्माण कम्पनीका लागि सेन्चुरी बैंक लिमिटेडबाट ऋण लिनका लागि प्रक्रिया सुरु गरे। उनले यस प्रयोजनको लागि बैंकबाट ऋण नपाउने भएपछि कृषिफर्मका लागि प्रक्रिया थाले। तर उक्त कामका लागि पनि उनले बैंकबाट ऋण पाएनन्। बैंकमा तरलता अभाव सुरु भइसकेकाले ठूलो रकम ऋण लगानी गर्न नसकिने जवाफ बैंकले दियो।
बैंकको जवाफपछि उनले सानो रकम भए पनि निकाल्ने भन्दै व्यक्तिगत कर्जाका लागि प्रयास गरे।
आफूलाई आवश्यक हुने ऋणको निवेदन, आफ्नो आम्दानी र व्यवसायी योजना पनि बुझाए। गाउँमा व्यवसाय गर्ने मनसाय बोकेर उनले उक्त प्रक्रिया थालेका थिए। बैंकका कर्मचारीहरुले खड्काको व्यवसायको प्रस्ताव स्वीकार गर्दै ऋण लगानी गर्ने जानकारी पनि दिए। यो लगत्तै उनी उत्साही भएर व्यवसायमा अघि बढे।
तर, तरलता अभाव भएको भन्दै बैंकले उक्त ऋण दिन नसक्ने जानकारी गरायो। यससँगै उनी अन्योलमा परे।
एक वर्षसम्म कुर्दा पनि बैंकबाट ऋण पाउने विश्वास नभएपछि अहिले खड्का हरेक दिन बैंक धाउने गरेका छन्। केही रकम पाउने आस उनलाई बैंकले देखाएको छ। करिब एक वर्ष बैंकबाट ऋण कहिले पाइएला भन्दै धाउँदैमा उनको दिन बित्यो।
माथि उल्लेखित विवरण उदाहारण मात्र हो। अहिले बैंकमा सबै प्रक्रिया पूरा गरेर पनि ऋण नपाउने व्यक्तिहरु धेरै छन्। गत आर्थिक वर्ष २०७८/८९को सुरुवातमा देखिएको आर्थिक संकट र तरलता संकट लगायतको समस्याले केही गर्छु भन्नेहरुलाई बञ्चित बनाएको छ। जसले गर्दा सरकारले चालु आर्थिक वर्षमा राखेको उत्पादनको लक्ष भेट्न पनि कठिन अवस्था आउने देखिन्छ।
कहिले पाइन्छ सहज रुपमा ऋण?
बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायका अनुसार अहिले पनि बजारमा तरलताको संकुचन रहेको छ। जसले गर्दा तत्कालै तरलता अभावको समस्या समाधान हुने देखिदैन।
‘बैंकरले यस्तो समस्या आजको भोलि नै समाधान होस् भनेर चाहेको हुन्छ। यो समस्या समाधान गर्न बजारमा पैसा आउनुपर्यो। बजारमा पैसा आउनको लागि आर्थिक गतिबिधिहरु चलाएमान हुनुपर्यो’, उनी भन्छन्, ‘त्यसको लागि हाम्रो पर्यटक आउनेक्रम बढ्नुपर्यो। यसैगरी, रेमिट्यान्स पनि बढ्नु पर्यो वा सरकारको खर्च बढ्नु पर्यो। यस्तो कुरामा सुधार हुनासाथ तरलताको अवस्था सहज हुन्छ र बजारमा साना देखि ठूला ऋणीले सहजै रुपमा ऋण लिएर व्यापार व्यवसाय गर्न सक्छन्।’
अहिले पनि तरलता संकुचन यथावत् रहेको छ। यसले गर्दा कतिपय बैंकहरुलाई ऋण दिनको लागि अप्ठ्यारो अवस्था रहेको छ। तरलता सहज भएको भए अहिले निक्षेप घट्ने थिएन। केही समयमा नै १०० अर्बको हाराहारीमा बैंकहरुको निक्षेप घटिरको उनको भनाइ छ। अहिले जोखिमको अवस्थाको कारण यस्तो समयमा काम गर्न पनि कठिन अवस्था रहेको उपाध्याय बताउँछन्। ‘ऋण दिनलाई कतिपय बैंकमा समस्या नहोला तर, अधिकांश बैंकमा अहिलेको समस्याले गाँजेको छ। यसकारण पनि हामीले ब्याजदर धेरै बढाएर कष्टमात्र बढ्ने हो। अहिलेको अवस्थामा आउने पैसा त बढदैन्’ उनी भन्छन्।
बैंकिङ क्षेत्र र व्यवसायिक दुवै क्षेत्र समस्यमा रहेको कारण राष्ट्र बैंकको निर्देशनपछि पनि बैंकहरुले ऋणको ब्याजदर साउन महिनाभरको लागि नबढाउने निर्णय गरेको उनी बताउँछन्। नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेल भन्छन्, ‘अहिलेको अवस्थामा पहिले जस्तो सहजै ऋण आउने अवस्था छैन। यसकारण साना तथा ठूला ऋणी दुबैले सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नपाएको हुनसक्छ। त्यो पनि कर्मसियल बैंकअनुसार हुन्छ। कुनै बैंकले सहज रुपमा कर्जा प्रवाह पनि गरिहेका होलान्। कुनै बैंकमा अप्ठयारो अवस्था होला।’
राष्ट्र बैंकको भनाइ अनुसार पनि अहिले नै बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान हुने अवस्था छैन। त्यो बैंक अनुसार बैंकमा निर्भर हुने कुरा हो। साउन १९ गतेसम्मको अवस्था हेर्ने हो भने बैंकिङ क्षेत्रमा १७ अर्ब रुपैयाँ बराबरको लगानी योग्य रकम रहेको छ। बैंकहरुसँग भएको लगानी योग्य रकमको घट्ने क्रम रहेको छ। साउन एक गते ४४ अर्ब रुपैयाँ भएको तरलता साउन दुई गते १५ अर्ब रुपैयाँ, साउनको ३ गते ५१ अर्ब गरेर साउनमा एभरेजमा १७ अर्ब रुपैयाँ बराबरको लगानी योग्य रकम देखिएको छ।
असहज तरलता हुनु भनेको अधिक तरलता म्यूट हुनु हो। तर, हामी कहाँ त्यस्तो अवस्था भने नआएको अर्थविदहरुको भनाइ छ। मौद्रिक नीतिले पनि लगानी योग्य रकमलाई संकुचन नै गरेको छ। राष्ट्र बैंकले नगद रिर्जभ अनुपात (सिआरआर रेसियो) एक प्रतिशतले बढाएको छ। वैधानिक तरलता अनुपान (एसएलआर रेसियो) पनि बढाएको छ। नेपाल राष्ट्र बैंकले गरेको अर्धवार्षिक समीक्षसम्म पाँच प्रतिशत रहेको अन्तर बैंक ब्याजदर अहिले ८.५० प्रतिशतसम्म पुगेको छ। यी सबै कुराले बजारमा कर्जा प्रवाह संकुचन भएको छ। बजारमा कर्जा संकुचन बनाउने राष्ट्र बैंकको उदेश्य भनेको विदेशी मुद्रा सञ्चिति घट्नु नदिनु र ब्यापार घाटा कम गर्नु हो। यसले आन्तिरक मागलाई बढाउनु वा उत्पादन बढाउन मदत पनि पुर्याउने हुन्छ। यो अवस्था कहिलेसम्म रहन्छ भनेर यकिनका साथ भन्न सकिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।