काठमाडौं- नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले विकृति र विसंगतिको चाङमा उभिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई निलम्बन गरिएको भन्दै उनीविरुद्धको महाभियोग प्रस्ताव पास गरियोस् भन्ने माग गरेका छन्।
राणाविरुद्धको महाभियोग प्रस्तावमाथि आइतबारदेखि जारी छलफलमा भाग लिँदै विश्वकर्माले उनीविरुद्ध सदनमा भन्दा पनि पहिले सडकबाट प्रश्न उठेको बताए।
न्यायपालिकामा सर्वोच्च पद प्रधानन्यायाधीशले आफ्नो पदअनुकूल आचरण गर्न नसकेको, कार्य सम्पादन गर्न नसकेको, विवादित फैसलाहरु गरेको, अन्यायपूर्ण फैसलाहरु नगरेको, विचौलियाहरुको प्रयोग गरेर मुद्दाहरुलाई प्रभावित गरेको जस्ता विषयहरु उठाएर संसद्ले भन्दा पनि सडकबाट, अधिवक्ताहरु, कानुनविद्हरु, कानुन व्यवसायीहरु, न्यायापालिकाकै न्यायाधीशहरु, सबै तहका न्यायाधीशहरु, पूर्वप्रधानन्यायाधीशहरु, कानुन व्यवसायीले प्रश्न उठाएका उनले स्मरण गराए।
'यसमा आवाज उठ्ने गर्थे- राजनीतिक दलहरु खोई? नेताहरु खोई? सांसदहरु खोई? संसद् खोई? सभामुख खोई? मानिसहरु न्याय पाउन नसकेर अलमिइरहेका थिए। न्याय माग्न जानेहरु बाटैबाट फर्किन्थे। राम शाह पथ क्षेत्रमा कहीँ पनि मुद्दा बोकेका वकिलहरु होस् वा न्याय माग्न जाने नागरिकहरु प्रवेश गर्न सक्दैनथे', उनले भने।
विश्वकर्माले महाभियोगको विषयलाई संसद्ले चाँडै सम्बोधन गरेर टुंग्याउनुपर्ने बताए। 'यो महाभियोग प्रस्ताव संविधान अनुसार, प्रतिनिधि सभाको नियमावली अनुसार यो दर्ता भएको छ। विलम्ब भयो, आज हामीसँग यही गुनासो छ। विलम्ब भएको हामीलाई पनि लागेको छ', उनले भने।
उनले विलम्ब भए पनि यसबीचमा संसद् अवरोध भएको, निर्वाचनमा जानुपरेको र राष्ट्रिय सहमति खोज्ने प्रयास गरेको बताए। त्यही अनुसार नै महाभियोग प्रस्ताव सिफारिस समित गठन गर्न आफूहरु सफल भएको र त्यहाँ पनि यस विषयमा छलफल हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।