काठमाडौं– नेकपा एमालेकी सांसद निरुदेवी पालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव क्षणिक राजनीतिक अभिष्ट पूरा गर्नका लागि मात्रै ल्याइएको हो? भन्दै प्रश्न गरेकी छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफलका भाग लिँदै सांसद पालले पाँच महिनासम्म पनि महाअभियोगजस्तो गम्भट्ठर विषय किनारा लाग्न नसकेको भन्दै आपत्ति जनाइन्।
यतिका समयसम्म सरकारले के हेरेर बस्यो भन्दै प्रश्न गरेकी छन्। ‘किन किनारा लगाउन सकिएन? छलफल गर्न र महाअभियोग लगाउन किन र कसले रोक्यो? यो सरकारलाई आफूसँग दुई तिहाई छैन भन्ने थाहा हुँदा–हुँदै हचुवाका भरमा जबरामाथि महाअभियोगको प्रस्ताव किन र के का लागि ल्याइएको थियो?’, उनले प्रश्न गरिन्।
उनले जबराविरुद्ध सरकारले आफ्नो क्षणिक राजनीतिक अभिष्ट पूरा गर्नका लागि महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएकी छन्।
‘आफ्नो क्षणिक राजनीतिक अभिष्ट पूरा गर्नका लागि मात्रै महाअभियोगको डण्डा चलाएको हो? कि यो डण्डा प्रयोग गरेर जबराको क्यारियर ड्यामेज पारिएको हो?’, उनले सभामुखमार्फत् सरकारलाई प्रश्न गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।