काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि पाँच महिनापछि छलफल अघि बढ्ने भएको छ। प्रतिनिधि सभाको आज आइतबार बस्ने बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
'मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने', सम्भावित कार्यसूचीमा भनिएको छ।
प्रधानन्यायाधीश जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
महाभियोग प्रस्तावमा २१ बुँदा उल्लेख गरिएका छन्। जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।
प्रतिनिधि सभाको फागुन २२ गतेको बैठकबाट 'महाभियोग सिफारिस समिति' गठन गरेको थियो। प्रतिनिधिसभाको त्यस दिनको बैठकमा महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरिएको थियो।
समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्वाहाम्फे र कृष्णभक्त पोखरेल छन्। त्यस्तै, कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट छन्। माओवादी यसोदा सुवेदी र रेखा शर्मा छन्। नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।