काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेलाई इंगित गर्दै देश बिगार्ने भँडुवा भएको टिप्पणी गरेका छन्।
शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन अनुरोध गरे।
उनले विश्वका धेरै मुलुकमा पार्टी चाहिने तर नेपालमा चाहिँदैन भन्दै स्वतन्त्र भनिएकाहरुले देश विगार्न लागेको आरोप लगाए। उनले पार्टीबिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरुले देश चलाउन नसक्ने दाबी गरे।
उनले भने, ‘बेलायतमा पार्टी चाहिन्छ। फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ। जापानमा चाहिन्छ, भारतमा चाहिन्छ। पाकिस्तानमा पार्टी चाहिन्छ। जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि। यहाँ चाँही फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन्।’
अध्यक्ष ओलीले एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा भए पनि स्वतन्त्रले देशका जनताको भावना बुझ्न नसक्ने बताए। ‘एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला। स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ?’, उनले भने।
उनले रवि लामिछानेलाई लक्षित गर्दै एउटा पत्रकारका रुपमा नचाहिने नचाहिने काम गरेको आरोप लगाए। एउटा जमातले साथ दियो भन्दैमा लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गर्न नपाइने ओलीले बताए।
उनले भने, ‘अब एउटा पत्रकार नचाहिने–नचाहिने काम गर्यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुदेको छ। अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ। शरम लाग्नुपर्ने हो। यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भँडुवाहरुको तरिका हो। यसबाट सतर्क हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।