काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्ने र नभन्ने पार्टीका कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन्।
नेकपा एमाले प्रदेश १ काे कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुखलाई रुखबाटै बनेको बिँडयुक्त बञ्चरोले काटिए जस्तै कांग्रेसले वामपन्थीहरुलाई प्रयोग गरेर वामपन्थीलाई ढालेको बताए।
'म सबै पार्टीमा रहेका र खासगरी आफूलाई वामपन्थी र कम्युनिस्ट भन्ने साथीहरुलाई आह्वान गर्न चाहन्छु, कांग्रेस बिँड भएर कम्युनिस्ट आन्दोलनलाई ढाल्ने र समाजवाद निर्माण गर्ने भुलभुलैयामा नफस्नुस्। फर्किनुस्। आउनुस्, वामपन्थी, देशभक्ति, राष्ट्रभक्ति र लोकतान्त्रिक आन्दोलनलाई सुदृढ गरौं। सबल पारौं। म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु', उनले भने।
त्यही क्रममा ओलीले गैरवामपन्थी पार्टीका कार्यकर्तालाई पनि एमालेमा जोडिन आग्रह गरे। त्यसका लागि उनले विचार-सिद्धान्त केही होइन भन्ने आशय व्यक्त गर्दै पन्थ-सन्थ केही नभएको बताए।
'अरु पार्टीहरु, जो आफूलाई वामपन्थी भन्दैनन्। त्यसमा रहेका साथीहरुलाई पनि म आग्रह गर्न चाहन्छु। पन्थ-सन्थ केही होइन। मुख्य कुरा 'समृद्ध नेपाल, सुखी नेपाली' हो। कुन पन्थ हो त्यो? समाजवादको पन्थ हो, त्यही हो वामपन्थ भनेको।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।