काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छिन्।
गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको बताइएको छ।
भेटमा गृहमन्त्री खाणले नेपाल ‘एक चीन नीति’को पक्षमा रहको बताए। ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौं।’
उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि स्पष्ट पारे। अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो।
भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन्। सरकारले बिहीबारमात्रै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन्।
जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको उल्लेख गरिन्।
उनले यसैवर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।