काठमाडौं– रूसको एक अदालतले अमेरिकी बास्केटबल स्टार तथा दुई पटकको ओलम्पिक स्वर्ण पदक विजेता ब्रिटनी ग्रिनरलाई प्रतिबन्धित लागुऔषध तस्करीको आरोपमा ९ वर्षको जेल सजाय सुनाएको छ।
रूसी न्यायाधीश अन्ना सोत्निकोभाले मस्कोको खिम्की सहरमा ३१ वर्षीय ग्रिनरलाई ९ वर्षको जेल सजाय र १० लाख रूबल जरिवाना तोकेका हुन्।
हथकडी लगाएर अदालतबाट बाहिर लैजाँदै गर्दा उनले ‘म मेरो परिवारलाई माया गर्छु’ भन्दै गरेको सुनिएको थियो। ग्रिनरका वकिल मारिया ब्लागोभोलिनाले उनी धेरै चिन्तित र धेरै तनावग्रस्त भएको बताइन्। ‘उनी मुश्किलले बोल्न सक्छिन्। यो उनको लागि कठिन समय हो,’ मारियाले भनिन्।
यसैबीच, अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्नो प्रतिक्रिया दिँदै सजायलाई एकतर्फी र अस्वीकार्य भएको बताएका छन्। ‘रूसले गलत तरिकाले ब्रिटनीलाई हिरासतमा राखेको थियो। म उनलाई तुरून्त रिहा गर्न आग्रह गर्दछु,’ उनले भने। वाइडेनले बिटनीलाई फिर्ता ल्याउन आफूले सक्दो प्रयास गर्ने बताए।
यता, अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले पनि यो सजाय स्वीकार्य नरहेको बताएका छन्। ‘रूस, वा कुनै पनि देश जसले गलत तरिकाले कसैलाई थुन्छ भने त्यो देशले यात्रा गर्ने, काम गर्ने र विदेशमा बस्ने सबै मानिसहरूको सुरक्षाको लागि खतरालाई प्रतिनिधित्व गर्दछ,’ उनले भने।
गत फेब्रुअरीमा ब्रिटनीलाई मस्को एअरपोर्टबाट पक्राउ गरिएको थियो। उनको साथबाट गाँजाको तेल भेटिएको थियो। फिनिक्स मर्करी टोलीको स्टार र दुई पटकको ओलम्पिक स्वर्ण पदक विजेता ब्रिटनीको मुद्दा गत हप्ता सुरू भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।