काठमाडौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रमार्फत् समाज रुपान्तरण गर्न सकिने भएकाले यसको योगदानलाई थप वृद्धि गर्न सरकार र अभियानबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमन्त्री केशव बडालले करयोग्य नागरिक निर्माण गर्ने क्षेत्र भएकाले सहकारीलाई करमुक्त बनाउन सरकारले ध्यान दिनु पर्ने र सहकारीले त्यसअनुकूलका काम गर्नु पर्ने बताए।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताए।
सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीको प्रवर्द्धनका लागि निर्माण गर्ने गरी ऐनमा व्यवस्था भएका कर्जा न्यायाधीकरण, कर्जा सूचनाकेन्द्र सञ्चालनका लागि विभाग तदारुकताका साथ लागि परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।