काठमाडौं– सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिइन्।
यसअघि सरकारले अधिकारीलाई असार ६ गते अध्यक्ष पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो। उनी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका थिए।
सर्वोच्च अदालतले त्यसबेला छानबिन समिति गठन भएको र छानबिन भइहेका बेला निलम्बन गर्न नहुने भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा निर्देशन जारी गरेको थियो।
मन्त्रिपरिषद्ले अधिकारीलाई हटाउँदै उक्त जिम्मेवारी दिपु ज्वारचनलाई दिएको थियो। सरकारले अधिकारीलाई सुरुमा चार वर्षका लागि नियुक्ति दिएको थियो।
यस्तै निगमभित्र मनपरी गरेको भन्दै उनलाई गत जेठ २६ गते तत्कालीन संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्पष्टीकरण सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।