काठमाडौं– हिमालय एअरलाइन्सले कोरोना महामारीका समयमा संस्थाका तर्फबाट निर्वाह गरिएका सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको छ। बुधबार एक कार्यक्रमका बीच प्रतिवेदन सार्वजनिक गरिएकाे हो।
सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखा प्रस्तुत गर्दै एअरलाइन्सले महामारीका वर्षहरूमा आफूले निर्वाह गरेका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन जारी गरेको जनाएको छ।
विगतका केही वर्षहरूमा विस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको र संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्याउने खालका कार्यहरू जारी राखेको एयरलाइन्सले जनाएकाे छ।
एअरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र मेन्टीनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरेका हुन्।
समाराेहमा दलीले सरकारको कोभिड–१९ कोषमा १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्य गरिएकाे बताइन्।
नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २,००,००० डोज ल्याउन २ करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
एअरलाइन्सले पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक गैर–सरकारी संस्था ‘प्रयास नेपाल’लाई साथ दिँदै आएको र बालबालिकाहरुको सपना साकार पार्ने ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा सहयोग गर्दै आएको एयरलाइन्सले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।