काठमाडौं– गतवर्ष फाल्गुन १३ मा अभिनेत्री पूजा शर्माको लगानी तथा अभिनय दुवै रहेको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आएको थियो। कोरोना महामारीपछि बल्ल फिल्म क्षेत्र तंग्रिँदै गर्दा प्रदर्शनमा आएको फिल्म अभिनेता पल शाह विवादमा तानिएको बेला हलमा लागेको थियो।
आफ्नो फिल्मलाई अभिनेताका कारणले असर गर्ने भन्दै पूजा शर्माले प्रचार तथा प्रदर्शनकै क्रममा पनि अनेक ‘तिक्डम’ अपनाइन्। फिल्म प्रदर्शनअघिको प्रचारात्मक कार्यक्रममा पललाई प्रहरीले पक्राउ गरेको भन्दै रोईकराई गर्नेदेखि फिल्म हलमा लाग्दा पनि उपत्यका र उपत्यकाबाहिरका हलमा पुग्दै उनले दर्शकसँगै रुने काम गरिन्।
पल प्रहरीको परिरहँदा बलात्कारको विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिनेदेखि दर्शकसँगै आफ्ना सह–अभिनेताको ‘सम्झना आएर रोएको’ भन्ने किसिमको भनाइ पूजाको थियो।
विवाद र रोईकराईको परिणामको रुपमा फिल्मले केही हदसम्म सफल व्यापार गर्यो पनि।
आफ्नो लगानी भएको फिल्मलाई हलमा सफल बनाउन रोईकराई गर्ने पूजाले हालसालै प्रदर्शनमा आएको उनको फिल्म ‘सम्झना बिर्सना’लाई भने बिर्सिएजस्तै व्यवहार गरिन्।
अभिनेत्री पूजा शर्माको फिल्म ‘सम्झना बिर्सना’ असार ३१ बाट प्रदर्शनमा आएको थियो। अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहेको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाइएको फिल्मले हलमा खासै व्यापार गर्न सकेन्।
हलमा राम्रो व्यापार गर्न नसकेको फिल्मको निर्माण पक्षले अभिनेत्रीले साथ नदिएकाले असर परेको पनि भन्यो। यसबीच पूजामाथि आरोप पनि लाग्यो। आरोप थियो, फिल्मका अभिनेता आकाशसँगको व्यक्तिगत विवादलाई फिल्मको बीचमा ल्याएको।
निर्देशक निमेष प्रधानले पूजा फिल्मकी मुख्य अभिनेत्री भए पनि फिल्मको प्रचारमा साथ नदिएको गुनासो पनि सार्वजनिक रुपमै गरे। पूजा र आकाशको व्यक्तिगत सम्बन्ध र विवादको मारमा फिल्मको निर्माण पक्षले व्यहोर्नुपर्यो। निर्देशक प्रधानले व्यक्तिगत विषयलाई अभिनेत्री पूजाले फिल्मको बीचमा ल्याएर आफूहरुलाई नकारात्मक असर पारेकोसम्म बताए।
आफ्नो लगानी रहेको फिल्मका लागि ‘मरिहत्ते’ गर्ने पूजाले आफूले अभिनय गरेको फिल्मलाई बेवास्ता गरेको परिणामका रुपमा ‘सम्झना बिर्सना’ले खास राम्रो प्रतिक्रिया पाउन सकेन्।
पूजा फिल्म प्रदर्शन हुने मितिमै अष्ट्रेलिया उड्नु मात्र होइन प्रचारदेखि प्रदर्शनको क्रममा पनि उनी अनुपस्थित भइन्। एकातिर व्यक्तिगत सम्बन्ध र विवाद, अर्कातिर पूजाले ‘सम्झना बिर्सना’लाई गरेको बेवास्ता, परिणामस्वरुप फिल्म फ्लपको सूचीमा देखियो।
आफ्नो लगानी हुँदा मरिहत्ते गर्ने पूजाले अरुको लगानी भएको फिल्मलाई गरेको व्यवहार ‘खाने पिउने रामे, चोट पाउने पामे’ भनेजस्तो देखियो । आफ्नो व्यक्तिगत कारणले फिल्मका निर्माता/निर्देशकलाई पूजाको व्यवहारले नकारात्मक असर पार्यो।
अब पूजाको यस्तो व्यवहारलाई खै के भन्ने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।