काठमाडौं–अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ। मंगलबार साँझ ताइवानको राजधानी ताइपेइ पुगेकी सभामुख पेलोसीले बुधबार त्यहाँकी राष्ट्रपतिसँग भेट गरकी छन्। त्यसअघि उनले ताइवानको संसद्मा मन्तव्यसमेत दिएकी थिइन्।
विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको यो पहिलो ताइवान भ्रमण हो। चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ। चीनका उपविदेशमन्त्री शि फेङले यसलाई द्वेषपूर्ण भन्दै अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
उनले चीन हातमा हात बाँधेर नबस्ने बताएका छन्। यसैबीच अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले न्यान्सी पेलोसीको भ्रमण चीनको ‘एक चीन नीति’सँग मेल खाएको र यसलाई संकटमा परिणत गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्।
ताइवान चीनबाट किन छुट्टियो?
दोस्रो विश्वयुद्धपछि चीनको मुख्य भू–भागमा चिनियाँ कम्युनिष्ट पार्टीले त्यहाँको सत्तारुढ नेसनलिस्ट पार्टी (कुओमिन्ताङ)सँग युद्ध लडिरहेको थियो। सन् १९४९ मा माओ त्से तुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले राजधानी बेइजिङमाथि कब्जा गर्यो। त्यसपछि सत्तारुढ कुओमिन्ताङ पार्टी समर्थकहरू मुख्य भूमि छोडेर दक्षिणपश्चिमी टापुमा गए, जुन ताइवान हो।
त्यसयता कुओमिन्ताङ ताइवानको सबैभन्दा महत्वपूर्ण पार्टी बनेको छ। ताइवानी इतिहासको अधिकांश समय कुओमिन्ताङ पार्टीले शासन गरेको छ। हालसम्म, विश्वका १३ वटा देशले मात्रै ताइवानलाई छुट्टै र सार्वभौमसत्ता सम्पन्न देश मान्छन्।
ताइवानलाई स्वतन्त्र राज्यको मान्यता नदिनका लागि अन्य देशहरूमा चीनको कूटनीतिक दबाब छ। चीनले अन्य देशहरूले ताइवानलाई मान्यता दिने कुनै पनि काम नगरून् भन्ने सुनिश्चित गर्ने प्रयास गर्दछ। जसका लागि उसले ‘एक चीन’ नीतिमा अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धता खोज्ने गरेको छ।
किन भयो ताइवानमा विवाद?
ताइवान चीनको दक्षिणपूर्वी तटबाट करिब १०० माइल टाढा रहेको एउटा टापु हो। चीनले यसलाई छुट्टै प्रान्त मान्छ र अन्ततः चिनियाँ नियन्त्रणमा आउने विश्वास गर्छ। चिनियाँ राष्ट्रपति सी चिन फिङले आफ्ना भाषणहरूमा ताइवानसँगको ‘एकीकरण’ पूरा हुने बताउने गरेका छन्। उनले यो हासिल गर्न बल प्रयोग गर्न सक्ने पनि बताएका छन्।
तर, ताइवानले आफूलाई आफ्नै संविधान र आफ्नै निर्वाचित नेताहरूको सरकार भएको स्वतन्त्र देश ठान्छ।
अमेरिकालाई किन महत्वपूर्ण छ?
ताइवान टापुका वरिपरि अमेरिकी सामरीक महत्वका क्षेत्रहरू समावेश छन्, जुन अमेरिकी विदेश नीति र सुरक्षाका लागि महत्वपूर्ण छन्। चीनले ताइवानलाई कब्जा गरे पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व स्थापित गर्ने पश्चिमा विज्ञहरूको चेतावनी छ। जसका कारण, गुआम र हवाई टापुमा रहेको अमेरिकी सैन्य अड्डा जोखिममा पर्न सक्ने उनीहरुकाे आंकलन छ। याे नै अमेरिकाको मुख्य चासोको विषय बन्दै आएको छ।
तर, चीनले आफ्नो नियत पूर्णतया शान्तिपूर्ण रहने दाबी गर्दै आएको छ।
के ताइवान आफ्नो रक्षा गर्न सक्छ?
चीनले सैन्य विधिबाहेक अन्य कदम चालेर पनि ताइवानलाई एकीकरण गर्न सक्ने बताएको छ। तर यदि दुई देशबीच लडाइँ भयो भने ताइवानको सैन्य शक्ति चीनको अगाडि कमजोर साबित हुनेछ ।
चीनले आफ्नो सेनाका लागि वार्षिक खर्च अमेरिकापछि विश्वकै सबैभन्दा बढी गर्ने गरेको छ। यसको सैन्य शक्ति एकदम विविध र विशाल रहेको छ। आधुनिक हतियार सहितको प्रविधिमा, नौसेना र वायुसेनामा र साइबर प्रणालीमा चीन निकै अगाडि रहेको छ।
ताइवान संसारको लागि किन महत्वपूर्ण छ?
ताइवानको अर्थतन्त्र विश्वको लागि ठूलो महत्वको छ। विश्वका इलेक्ट्रोनिक ग्याजेटहरू जस्तै फोन, ल्यापटप, घडी र गेमिङ उपकरणहरूमा प्रयोग हुने अधिकांश चिपहरू ताइवानमा बन्ने गरेका छन्। ताइवानले विश्व बजारमा उत्पादन हुने कूलमध्ये आधाभन्दा बढी चिप्स उत्पादन गर्छ। २०२१ को एक तथ्यांकअनुसार विश्वभरि करिब १०० बिलियन डलरको चिप उद्योग रहेको र यसमा ताइवानको प्रभुत्व रहेको देखाएको थियो।
यदि ताइवानलाई चीनले कब्जा गर्यो भने विश्वको यस्तो महत्वपूर्ण उद्योगहरूमा चीनको नियन्त्रण रहने छ। प्रविधिको यो अत्यावश्यक वस्तुको एकाधिकार पश्चिमाहरूका लागि महँगो पर्न जाने छ।
ताइवानी जनता के भन्छन्?
चीन र ताइवानबीचको तनाव बढे पनि एक अनुसन्धानले त्यहाँका जनतामा त्यसको खासै प्रभाव नपरेको देखाएको छ। अक्टोबरमा, ताइवान पब्लिक ओपिनियन फाउन्डेशनले चीनसँग युद्ध हुन्छ कि भनेर सोधेको जवाफमा करिब ६४ प्रतिशत ताइवानी जनताले यसको जवाफ ‘हुँदैन’ भनेर दिएका थिए।
उही समयमा, अर्को एक अनुसन्धानले ताइवानका धेरैजसो मानिसहरूले आफूलाई चिनियाँहरू भन्दा फरक ठान्ने गरेको देखाएको थियो। अर्को एक सर्वेक्षणले सन् १९९० को तुलनामा ताइवानका मानिसहरूमाझ ताइवानी पहिचान बढेको देखाएको छ। मानिसहरूमा आफूलाई चिनियाँ वा ताइवानी–चिनियाँ ठान्ने प्रवृत्ति पहिलेदेखि नै निकै कम रहेको तथ्यहरूले देखाएको छ।
पछिल्लो समय चीन आक्रामक बनेको अमेरिकी सभामुखको भ्रमणका कारण हो। चीन ताइवानबाहेक अहिले अमेरिकाको भूमिकाका कारण क्रुद्ध छ। यो भ्रमणको जुनसुकै तहमा प्रतिकार गर्ने बताएको चीन अब कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ। किनभने, जुन भ्रमणलाई चीनले रोक्न खोजेको थियो त्यो भ्रमण पूरा गरेर अमेरिकी सभामुख पेलोसी ताइपेइबाट दक्षिण कोरिया उडिसकेकी छन्।
(अन्तर्राष्ट्रिय समाचार माध्यम बीबीसी, गार्डियनलगायतमा प्रकाशित सामग्रीको आधारमा तयार पारिएको लेख)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।