काठमाडौं– नेपाल मजदुर किसान पार्टीले अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर विरोध गर्दै अमेरिका युद्ध उत्तेजनात्मक गतिविधिमा लागेकोले आरोप लगाएको छ।
नेमकिपाले अमेरिकालाई यस्तो नीति तुरुन्त त्याग्न आग्रहसमेत गरेको छ। बुधबार नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले एक विज्ञप्ति जारी गर्दै अमेरिकाको उक्त कार्यको कडा भत्र्सना गरेका छन्।
ताइवान पुगेर पेलोसीले उत्तेजनात्मक अभिव्यक्ति दिएको, ताइवानलाई चिनियाँ मुख्य भूमिबाट अलग गराउने पेलोसीको अभिव्यक्तिलाई साम्राज्यवादी आक्रामक नीति ठहर गरेको नेमकिपाले त्यस्तो कार्यलाई निन्दनीय भनेको छ।
नेमकिपाले अमेरिकाले चीन घेर्ने नीति ल्याएर विश्वशान्ति खल्बल्याउने कार्य गरेको बताएको छ।
‘चीन घेर्ने नीति अन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी, क्वाड, असकस आदि नीति र सङ्गठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खल्बल्याउने कार्य हो,’ विज्ञप्तिमा भनिएको छ।
नेमकिपाले अमेरिकी साम्राज्यवादको एसियामा नयाँ युद्ध थोपर्ने चालबाजी भन्दै त्यसको सधैं विरोध गर्दै आएको बताउँदै एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्यको बन्द गर्न अमेरिकासँग माग गरेको छ।
उसले चीनको सम्प्रभुताको कदर गर्न अमेरिकालाई ध्यानाआकर्षण गरेको छ। त्यस्तै, ताइवान चीनको अभिन्न अङ्ग भएकोले अमेरिकाले झगडाको आगो झोस्दै हिँड्ने कार्य गरेको भन्दै त्यस्तो कार्य तत्काल त्याग्न विज्ञप्तिमा नेमकिपाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।