काठमाडौं– आमिर खानको बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’लाई बहिष्कार गर्न माग भएको छ। सामाजिक सञ्जाललगायतका माध्यमबाट आमिरको आगामी फिल्मलाई बहिष्कार गर्नुपर्ने भन्दै भारतमा अभियान चलाइएको छ। भारतीय युट्युबरदेखि सामाजिक अभियन्ताहरुले यस्तो अभियान चलाइरहेका हुन्।
साउन २६ बाट विश्वभर रिलिज हुन लागेको यो फिल्मलाई लिएर ट्विटरमा बहिष्कार गर्ने ट्रेण्ड चलाइएको छ। आमिरले आफ्ना फिल्महरुमा हिन्दू संस्कृतिको अपमान गर्ने भन्दै यस्तो ट्रेण्ड चलाइएको हो।
यसबीच आफ्नो फिल्मलाई बहिष्कार गर्ने विषय उठिरहँदा आमिरले भने सार्वजनिक रुपमा फिल्मलाई त्यसो नगर्न भनेका छन्। हाल फिल्मको प्रचारमा रहेका आमिरले आफ्नो फिल्मलाई बहिष्कार नगर्न र फिल्म हेरेपछि मात्रै दृष्टिकोण बनाउन दर्शकमाझमा आग्रह गरेका छन्।
आमिरको यसअघिको फिल्म ‘पिके’लाई पनि बहिष्कार गर्ने माग उठेको थियो। फिल्ममा हिन्दू धर्मको अपमान गरेको भन्दै त्यसलाई बहिष्कार गर्न माग उठेको थियो। तर,पछि फिल्मले सिनेमा हलमा निकै राम्रो आम्दानी गरेको थियो।
हाल प्रदर्शनको संघारमा रहेको आमिरको ‘लालसिंह चड्डा’ अद्भैत चन्दनको निर्देशनमा बनेको फिल्म हो। फिल्ममा आमिरसँगै करिना कपुर, मोना सिंह, नागा चैतन्यलगायतका कलाकार छन्। यो फिल्म सन् १९९४ मा प्रदर्शन भएको अस्कर विजेता चर्चित फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।