काठमाडौं– बलिउड अभिनेता आमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्डा’ नेपालमा प्रदर्शनका लागि निकै महंगोमा खरिद भएको छ।
ब्यांकटेस इन्टरटेनमेन्टले फिलमलाई नेपालमा प्रदर्शनका लागि अधिकार खरिद गर्दा दुई करोड रुपैयाँ लगानी गरेको छ। यो मूल्य हालसम्म नेपालमा प्रदर्शनका लागि ल्याइएका फिल्महरुमध्येमा सबैभन्दा महंगो हो।
यसअघि नेपालमा प्रदर्शन भएको भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ १ करोड ७० लाखमा खरिद गरिएको थियो। त्यस्तै, एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ पनि नेपालमा प्रदर्शनका लागि १ करोड रुपैयाँमा खरिद गरिएको थियो। हाल खरिद भएको आमिरको फिल्म भने यी सबै फिल्मभन्दा महंगो मूल्यमा खरिद गरिएको छ।
सन् १९९४ मा प्रदर्शनमा आएको चर्चित हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक रहेको ‘लाल सिंह चड्डा’ आमिरको निकै महत्वकांक्षी र प्रतिक्षित फिल्म हो। आमिर खान प्रोडक्सन र भायकम–१८ ले निर्माण गरेको फिल्मलाई विश्वव्यापी रुपमा हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चरर्सले वितरण गरेको छ ।
१५० करोडको लगानीमा बनेको यो फिल्ममा आमिरसँगै करिना कपुर, नागा चैतन्य, मोना सिंहलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई अद्भैत चन्दनले निर्देशन गरेका हुन्।
फिल्म साउन २६ बाट नेपालसँगै विश्वभर प्रदर्शन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।