काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक भन्ने गरिएकोमा असन्तुष्टि जनाएका छन्। तुलसीलाल अमात्यको २५औँ स्मृति दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले कांग्रेसको नाममा पनि प्रजातान्त्रिक नभएको र व्यवहार पनि प्रजातान्त्रिक नभएको तर्क गरे।
‘नेपाली कांग्रेसलाई प्रजातान्त्रिक किन भनिएको हो, त्यो पनि बुझ्दिनँ म। किन भनेको? उसको पार्टीको नाम पनि कांग्रेस होइन। कांग्रेस हो नाम। उसको विचार पनि प्रजातान्त्रिक छैन। काम पनि प्रजातान्त्रिक छैन। देशभक्तिपूर्ण पनि छैन। जनपक्षीय पनि छैन,’ ओलीले भने, ‘अनि, प्रजातान्त्रिक भनेको के बुर्जुवा भनेको हो? रियाक्सनरी भनेको हो? रियाक्सनरीको पर्यायवाची हो प्रजातान्त्रिक भनेको? त्यसैले नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक हुँ भन्छ भने प्रजातान्त्रिक आचरण देखाओस्।’
कांग्रेसको प्रजातान्त्रिक आचरणप्रति प्रश्न उठाउनुअघि उनले कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सरकारले गरेका ४ निर्णयलाई सन्दर्भमा लिएका थिए।
ओलीले भनेको पहिलो घटना हो, भीमदत्त पन्तको हत्या। ‘२०१० साल साउन १७ गते भीमदत्त पन्तको हत्या गरियो। एउटा देशभक्तको हत्या गर्न विदेशी फौज झिकाएर हत्या गर्ने जस्तो अपराध नेपाली कांग्रेसले सजिलै गर्छ। त्यसमा उसलाई कुनै लाज शरम नै छैन। सार्वभौमसत्ताको, स्वाधिनताको, स्वतन्त्रताको प्रश्नै छैन उसका लागि। सजिलै गर्छ। नेपाली कांग्रेससँग लाजघिनै छैन,’ उनले भने।
ओलीले दोस्रो सन्दर्भस्वरुप गण्डक सम्झौताको चर्चा गरे। ‘नेपालको जलस्रोत नेपाल हितमा प्रयोग नभएर अरु देशको हितमा प्रयोग हुने प्रचलनको सुरुवात गण्डक सम्झौता, २०११ बाट मातृकाप्रसाद कोइरालाले गरे। नेपाली कांग्रेसले गर्यो। नेपाली कांग्रेसको सभापति प्रधानमन्त्री भएको बेलामा नेपाली कांग्रेसको एकल सरकार भएको बेलामा गर्यो। नेपालका प्राकृतिक स्रोतहरुमाथि अरुको आधिपत्य सुरु भयो,’ उनले भने।
ओलीले चर्चा गरेको तेस्रो घटना थियो, चीनसँग जोडिएको सीमामा भारतीय सेनाको क्याम्प राख्न दिने निर्णय। मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेला २००८ माघमा नेपालको उत्तरी छिमेकीसँग जोडिएको सीमानामा दक्षिणी छिमेकीका सेना लगेर १७ ठाउँमा सैनिक क्याम्प राखिएको उनले बताए। यो निर्णयलाई उनले स्वाधिनता विरुद्ध, सार्वभौमसत्ता विरुद्ध देशद्रोही कामहरुको रुपमा उल्लेख गरे।
ओलीले चर्चा गरेको चौथो घटना थियो, कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध। उनले भने, ‘मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुने बित्तिकै, कांग्रेसको सरकार बन्ने बित्तिकै, राणा शासन कांग्रेसका लागि ढल्यो। कांग्रेसलाई प्रजातन्त्र आयो। कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो। कांग्रेसले २००८ साल माघबाट ४ वर्ष त कम्युनिस्ट पार्टीले प्रतिबन्धित अवस्थामा बिताउनुपर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।