काठमाडौं– सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुविरुद्ध प्रक्राउ पुर्जी जारी गरिएको विषयमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका सो पार्टीका नेता कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। मोदीले सरकारले यसअघि नेकपाका नेता/कार्यकर्तामाथि लागेका मुद्दाहरू खारेज गर्ने र जेलमा रहेकाहरुलाई प्रक्रिया पुरा गरी रिहा गर्ने सहमति जनाए पनि नेताहरूमाथि पक्राउ पुर्जी जारी गरिएको बताए।
‘नेकपा विप्लव समूहसँग सरकारले तीन बुँदे सहमति गरेको छ। त्यसको कार्यान्वयनको सट्टा अहिले पनि धरपडक, वारेन्ट जारी हुनु त यो अदालतको कुरा हो। तर, सरकारसँग वार्ता गरिसकेपछि सरकारले पहलकदमी लिनुपर्छ। जेलमा रहेका बन्दी रिहाइ गरिनुपर्छ’, उनले भने।
ललितपुर जिल्ला अदालतले सोमबार सार्वजनिक सूजना जारी गर्दै महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विक, विप्लव नेकपाबाट हालै मात्र विद्रोह गरी नेकपा बहुमत गठन गरेका हेमन्तप्रकाश वली, मोहनबहादुर कार्कीलगायतविरुद्ध हातहतियार तथा खरखजाना, साङ्गठनिक अपराध र आपराधिक लाभ, विस्फोट गराइ कर्तव्य ज्यान तथा राज्य विरुद्धको अपराध र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।
सांसद मोदीले संविधान जारी गर्नुअघि भएको थारु आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका र मुद्दा लगाइएकाहरुबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए। जेलमा रहेकाहरुको रिहाइ र मुद्दा फिर्ताका लागि उनले सरकारसँग माग गरे।
‘हामी थारुहरुले पटकपटक कुरा उठायौं। थारुहरु अन्यायमा पर्यौं। सबैभन्दा अन्यायमा परेको जातिलाई राज्यले सबैभन्दा धेरै अधिकार दिनुपर्छ’, उनले भने, ‘हामीले राज्यको पुनसंरचना गर्दा पहिचानसहितको संघीयताको लागि आन्दोलन गर्दा थारुहरु जेल जीवन बिताइरहेका छन्। कयौं मान्छेलाई झुटो मुद्दा लगाइएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।