काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरासहित भारतबाट अतिक्रमित भूमि समेट्दा आफू प्रधानमन्त्रीबाट हट्नु परेको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चीनतर्फका नाका खुला गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताए।
२०७२ सालमा नाकाबन्दी लागेपछि आफूले उत्तरबाट पनि ट्रान्सपोर्ट, ट्रान्जिट खुला गरेको ओलीको भनाइ छ। उत्तरका नाका खुला गरेपछि नेपालमा नाकाबन्दी हुन नसक्ने परिस्थिति सिर्जना गरेको उनले दाबी गरे।
सुगौली सन्धिले महाकालीको उद्गम देखिको पूर्वपट्टीको भू–भाग नेपालको हो भनिसकेको अवस्थामा त्यसमा विवादको विषय नै हुन नसक्ने ओलीको भनाइ छ। नेपालको नक्साबाट त्यो भूभाग हटाएको भन्दै त्यसलाई नक्सामा सामेल गरेपछि आफू प्रधानमन्त्रीबाट हट्नुपरेको ओलीले उल्लेख गरे।
‘त्यति बेला पनि मलाई थाहा थियो, यहाँ ठूलो उपद्रो मच्चिनेवाला छ । तर मैले प्रधानमन्त्रीबाट हट्नुपर्यो। त्यो कुरा थाहा थियो। नभन्दै हट्नु पनि पर्यो,’ ओलीले भने।
उनले आफू प्रधानमन्त्रीबाट हट्नु परेकोमा दु:ख नभइ देश जता जाँदै छ, जता लगिँदैछ त्यसमा पिर भएको बताए। उनले आफू सत्तामुखी नभएको बताउँदै देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डताको रक्षाका लागि लागिरहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।