काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अवैधानिक कदमविरुद्ध नेपाल विद्यार्थी संघ त्रिविले विरोध प्रदर्शन गरेको छ।
त्रिवि सेवा आयोगका अध्यक्ष प्राध्यापक डा लालु प्रसाद पौडेलले अवकाश पाउन दुईदिन मात्र बाँकी हुँदा सेवा आयोगमा कर्मचारी नियुक्ति गर्न खोजेको भन्दै नेविसंघले विरोध प्रर्दशन गरेको हो।
नेविसंघले अध्यक्ष पौडेल एमालेको कोटाबाट सेवा आयोगको अध्यक्षमा नियुक्त भएकाले सेवा आयोगको ऐन विपरीत बिदा नबसेर अन्तिम दिनसम्म एमाले निकट दलीय कार्यकर्ता नियुक्त गर्न खोजेको आरोप लगाएको छ।
सेवा आयोगको ऐन अनुसार अध्यक्षले अवकाश हुनुभन्दा एक महिना अगाडि नै अनिवार्य बिदामा बस्नुपर्ने प्रावधान रहेको नेविसंघको दाबी छ। नेविसंघ त्रिवि सचिव योगेन्द्र रावलले अनेरास्ववियूकी अध्यक्ष सुनिता बराललाई विद्यार्थी संगठनकोविरुद्ध नलाग्न चेतावनीसमेत दिए। उनले अनेरास्ववियू विद्यार्थीको हितमाभन्दा पनि सेवा आयोगका अध्यक्षको बचाउ गर्न लागेको आरोप रावलले लगाए।
सचिव रावलले यसअघि नेविसंघले साउन एक गते नै त्रिविका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको बताएका छन्। त्यति हुँदा–हुँदै पनि अध्यक्ष पौडेलले १५, १६ र १७ गते अवैधानिक रुपमा आयोगका कर्मचारीहरुको अन्तर्वार्ता राखेको भन्दै नेविसंघले आपत्ति जनाएको छ। नेविसंघको अवरोधका कारण आइतबारको परीक्षासमेत हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।