काठमाडौं- नेकपा एमालेले पुन: अर्थमन्त्रीमा नियुक्त भएका जनार्दन शर्माविरुद्ध विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
संसदीय छानबिन समितिको बहुमतले 'क्लिन चिट' दिएको भन्दै विरोध जारी राख्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।
शर्मालाई अर्थमन्त्री नियुक्त गरेकोमा विरोध जनाउँदै सचेतक भट्टराईले संसद्मा विरोध जारी राख्ने तयारी भएको जानकारी दिए।
उनले भने, 'निष्पक्ष छानबिन भएर निर्दोष देखिएको होइन। सत्ता गठबन्धनको बहुमतले निर्दोष बनाएको हो। हामी संसद्मा आवाज उठाउँछौं।'
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर एमालेले संसद्मा विरोध गरेपछि शर्माले राजीनामा दिएका थिए। प्रतिनिधि सभाले छानबिन समिति बनाएको थियो।
छानबिन समितिको बहुमतले 'पुष्टि हुन नसकेको' बताएपछि शर्मालाई फेरि अर्थमन्त्रीमा नियुक्त गरिएको हो। एमालेका चारैजना सदस्यले छानबिन स्वतन्त्र हुन नसेकेको भन्दै फरकमत राखेका छन्।
छानबिनका क्रममा देखिएका प्रमाणले अनधिकृत व्यक्ति प्रवेशको आरोप नै पुष्टि गर्ने एमालेको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।