काठमाडौं- जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त हुने भएका छन्। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेर विवादित भएपछि उनले गत असार २२ गते प्रतिनिधि सभाबाट राजीनामा दिएका थिए।
शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले गत शुक्रबार शर्मालाई 'क्लिन चिट' दिँदै प्रतिनिधि सभासमक्ष प्रतिवेदन पेस गरेको थियो। शर्मामाथि लागेको आरोप प्रमाणित नभएपछि उनलाई नै पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको माओवादी केन्द्रका एक नेताले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भेट भएको थियो। सोही भेटमा उनले शर्माको सिफारिस गरेको ती नेताले बताए।
प्रधानमन्त्रीको रुपमा देउवाले सपथ खाएकै दिन अर्थात् २०७८ असार २९ देखि शर्माले अर्थ मन्त्रालय सम्हालेका थिए। शर्माका कार्यशैलीप्रति देउवा पनि सन्तुष्ट रहेको बताइन्छ। त्यसैले शर्माको पुनर्नियुक्तिको सम्भावना बढी छ।
अर्कोतिर, देउवाले गठबन्धनको प्रमुख सहयोगी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहनालाई अस्वीकार गर्ने सम्भावना कम छ। शर्माको शपथ आजै हुने सम्भावना पनि छ। मन्त्रीको शपथ राष्ट्रपतिद्वारा गर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।