काठमाडौं- बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदन मान्नसक्ने कुरा नभएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
शनिबार राष्ट्रिय युवासंघ नेपालको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै उनले नेपाली जनताले छानबिन समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुपर्ने बताए।
'गल्ती नै भएको छैन। प्रमाणित भएन रे। प्रमाणित हुनै दिइएन। प्रमाणित गर्नै मानेनन्। सात जना आफ्नो राखेर बहुमत र अल्पमतले फैसला, त्यो त त्यहीँ संसद्मै हुन्छ हुन्न भनेको भए भइहाल्थ्यो नि। गठबन्धनसँग हाल बहुमत छँदैछ। त्यहाँ (समितिमा) पनि हुन्छ र हुन्न भनेर निर्णय गर्ने भएपछि', उनले भने, '११ जनाको समिति बनाउने र सात जना राखेर हुन्छ कि हुन्न भनेर लिएर आउने रिपोर्ट? यो कुनै रिपोर्ट होइन। तथ्यमा आधारित रिपोर्ट होइन। त्यसकारण यसलाई मान्न सक्ने कुरा हुँदैन। नेपाली जनताले यसलाई अस्वीकार गर्नुपर्दछ।'
ओलीले 'इन्टरनेसलन' छानबिनको चुनौती पनि दिए। तर यस विषयमा विस्तृत भने बताएनन्। 'कल डिटेल किन हेर्न मान्दैनन्', उनको भनाइ थियो, 'म भन्न चाहन्छु, यदि मेरो भनाइलाई कसैले च्यालेन्ज गर्छ भने, ठीक छ, इन्टरनेसनल छानबिन, यो देशका विरुद्धमा अपराध हो। देशका अर्थतन्त्र विरुद्धको अपराध हो।'
उनले एकाध घरानालाई पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई धराशायी पार्ने जानीजानीकन अपराध गरिएको बताए। उनले भने, 'यस्तो कुरा मामुली कुरा हो? आइन्दा सच्याउँला भन्ने कुरासम्म पनि छ। यति गम्भीरताका साथ लिइएन, गल्ती भयो भन्ने कुरा पनि छैन।'
उनले सत्तापक्षको बहुमत राखेर किन समिति बनाइयो? भन्दै प्रश्न गरे। 'अर्थात्, बजेट बनाउँदा राष्ट्रको ढुकुटीमारा काम, बजेटमारा काम, देशमारा काम, भयानक एउटा अनैतिक र आपराधिक काम भएकै हो। त्यो पुष्टि भयो। छानबिन समितिको निर्माण, हामीले तैपनि केही पनि भनेनौँ। हामीले निष्पक्ष छानबिन गर्न खोज्यौँ। तर कतै फुटेज डिलिट भएको छ। दिनै चाहेको छैन। अर्कै केही ल्याएको छ। के ल्याएको छ', ओलीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।