काठमाडौं– बिहीबार अपराह्न काठमाडौँ उत्रेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेपाल सधैं आफ्नो मुटुमा रहेको बताएका छन्। यसको कारण भने उनी नेपाल आउँदा युवतीसँग प्रेममा परेकाले हो।
शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो फेसबुकमा सेयर गरेको एक भिडियोमा मन्त्री लु ले उक्त कुरा बताएका हुन्। लु ले भने,‘नेपाल सधैं मेरो मुटुको नजिक रहने ठाउँ हो। किनकि म पहिलोपटक प्रेममा परेको यहीँ हो।’
उनले नेपालको पहिलो भ्रमण सन् १९९३ मा गरेको र त्यो भ्रमणमा सँगै रहेकी महिलासँग नेपाल आईपुगेपछि प्रेममा परेको बताएका छन्। तिनै प्रेमिकासँग पछि गएर विवाह गरेको र हाल दुई बच्चा रहेको उनले उल्लेख गरेका छन्। मन्त्री लु ले यो क्षेत्रको भ्रमणबाट प्रभावित भएकोले आफ्ना छोराछोरीको नाम पनि यतैतिर मिल्दो राखेको बताएका छन्।
‘म पहिलो पटक १९९३ मा नेपाल आएको थिएँ। र आज यस क्षेत्रका लागि अमेरिकी सहायक विदेशमन्त्रीको रुपमा यहाँ फेरि आएको छु। झण्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ म ती युवतीसँग प्रेममा परेँ जो आज मेरी श्रीमती छिन्,’ मन्त्री लु ले भने,‘हामीले विवाह गरेको करिब २६ बर्ष भयो र हाम्रा दुई सुन्दर छोराछोरी छन्। दुवैको नाम दक्षिण एसियामा हामीले बिताएको समयबाट प्रेरित छन्। अलिया र किपलिङ।’
मन्त्री लु ले आफ्नो यात्रा दार्जिलिङबाट सुरु गरेको र नेपालका महत्वपूर्ण स्थलको भ्रमण गरेको उक्त भिडियोमा उल्लेख गरेका छन्। ‘हामीले हाम्रो यात्रा दार्जिलिङबाट सुरु गरेका थियौं। मोटर रिक्सा चढेर बोर्डर सीमा पार गरी नेपाल आइपुग्यौं। बोर्डरबाट हामी सार्वजनिक बस चढी तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज र जनकपुर पुग्यौं र काठमाडौं आयौं,’ मन्त्री लु ले भने।
मन्त्री लु ले नेपालको तराईमा असाध्यै गर्मी भएका कारण बसकाे छतमा बसेर यात्रा गरेको स्मरण गरेका छन्। ३० वर्ष अगाडिको उक्त यात्रामा उनको भ्रमण दलले चितवन राष्ट्रिय निकुञ्जमा जीप चढेर डरलाग्दो अर्ना खोजेको समयलाई याद गरेका छन्।
त्यस्तै जनकपुर जाँदा महिलाहरुले दियो बालेर नदीमा बगाएको दृश्य एकदम सुन्दर रहेको स्मरण गरेका छन्। ‘जनकपुरमा हामी दीपावलीको बेला पुगेका थियौं। उक्त चाड मनाउन महिलाहरूले पानीमा दियो बगाउँदै गरेको हेर्दै जनकपुरनजिकको नदी पार गरेको कहिल्यै बिर्सिने छैन,’ लु ले भने, ‘त्यो एकदम सुन्दर थियो।’
काठमाडौंका सम्पदा र यहाँको खानाले आफू पुन: तीस वर्षपछि पनि स्वादिलो नेवारी खाजाको खोजीमा रहेको बताएका छन्। ‘काठमाडौंमा हामीले पाटनका अद्भूत सम्पदाहरू घुम्यौं। र केही विश्वकै उत्कृष्ट खाना खाएका थियौं,’ लु ले भने,‘हिजो साँझ मैले गज्जबको शाकाहारी मो:मो खाएँ। र, आज स्वादिलो नेवारी परिकारको खोजीमा रहनेछु।’
राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेको बेला सहायकमन्त्री लु ले आफ्नाे नेपालसम्बन्ध र प्रेम कथालाई रमाईलो रुपमा सार्वजनिक गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।