काठमाडौं– चालु आर्थिक वर्ष २०७९/०८० को आर्थिक विधेयक (बजेट) निर्माणका अनधिकृत व्यक्तिको संलग्नता प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेका हुन्।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि प्रतिनिधि सभा बैठक भने स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबार बस्ने गरी प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित गरेका हुन्।
त्यसअघि ११ सदस्यीय संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सभामुख सापकोटालाई बुझाइएको थियो।
असार २२ गते गठन भएको समितिले झण्डै १७ दिनको अनुसन्धानपछि प्रतिवेदन तयार पारेको हो।
बजेट भाषण गर्नु अगाडि जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराइ बजेटमा करका दर हेरफेर गरेको प्रकरणमा संसदीय समिति गठन भएको थियो।
समितिको प्रतिवेदनमा भने प्रमुख प्रतिपक्षी दल एमालेका सांसद (सदस्य)हरुले भने असहमति जनाएका छन्।
अर्थ मन्त्रालयका अधिकारीहरु जिम्मेवार रुपमा प्रस्तुत नभएको तथा सत्ता पक्षका सांसदहरुले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउने गरी भूमिका खेलेको एमालेका सांसद्हरुको भनाइ छ।
बजेट निर्माणका क्रममा प्रवेश गरेका भनिएका अनिधकृत व्यक्ति रघुनाथ घिमिरे र तत्कालीन अर्थमन्त्री शर्माको कल डिटेल, घिमिरेको लोकेशन ट्रेस र पोलिग्राफ परीक्षणसहित बयान लिइनुपर्ने एमाले सांसदहरुको माग थियो। तर, सत्ता पक्षका सांसदहरुले त्यसमा सहमति जनाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।