काठमाडौं- बलात्कार आरोपी सिद्धाबाबा अर्थात् कृष्ण गिरीको नेतृत्वमा पशुपति परिसरमा भइरहेको महायज्ञमा सरकारका अधिकारी सहभागी भएको भन्दै एमालेले बिरोध जनाएको छ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की र महान्यायधिवक्ता खम्म खाती उक्त महायज्ञमा सहभागी भएका थिए।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमालेका तर्फबाट विशेष समयमा बोल्दै पूर्व उपसभामुख तथा सांसद शिवमाया तुङ्वाहाम्फेले बिरोध जनाएकी हुन्।
उनले भनिन्, 'पशुपतिनाथ परिसरभित्र ९ दिने महायज्ञ भइरहेको छ। त्यहाँ आफ्नै अनुयायीलाई बलात्ककार गरेको आरोप लागेका कृष्ण गिरी सहभागी छन्। अदालतमा मुद्दा विचाराधीन छ। तर सरकारका मन्त्री र सरकारी वकिलको प्रमुख पद महान्याधिवक्ता खाती उपस्थित भएका छन्। यसमा हाम्रो आपत्ति छ।'
मन्त्री र महान्याधिवक्ताले नै बलात्कार आरोपीलाई संरक्षण गरेकोमा पीडित र आम महिलाले महशुस गर्ने मनोविज्ञान बुझ्न उनले आग्रह गरेकी छिन्। पुर्पक्षका लागि थुनामै पठाउने पर्ने व्यक्ति साधारण तारेखमा छुटाउने न्यायधीशको कार्य सम्पादनका विषयमा पनि प्रश्न उठिरहेको उनले बताइन्।
फैसला नहुँदै आरोपितको सरकारले पक्षपोषण गर्नु पीडितमाथिको अत्याचार भएको भन्दै उनले प्रश्न गरिन्, 'यसले पीडितमा मनोवैज्ञानिक असर पर्योप कि परेन होला? अब उप्रान्त गुरुको आज्ञामा चल्ने भन्दै औंठाछाप हानिरहँदा पीडित पक्षले के सोचे होलान्?'
बलात्कारी आरोपीलाई गुरु मान्ने सरकार पक्षका जिम्मेवार व्यक्तिमाथि समेत प्रश्न उठेको बताउँदै उनले आरोपितलाई प्रश्रय दिएर पीडित पक्षलाई अन्याय गर्न नमिल्ने भन्दै ध्यानाकर्षण गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।