काठमाडौं- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले बिहीबार राष्ट्रिय सभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेकोमा त्यसको स्वागत गरेका छन्।
प्रतिनिधि सभाले गत शुक्रबार उक्त संशोधन विधेयक बहुमतले पारित गरेको थियो। ‘सबै एनआरएनहरुका लागि खुसीको दिन’ भन्दै अध्यक्ष आचार्यले अब गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खोलेको बताए।
'संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्नुका साथै यो विधेयकले एनआरएनहरुलाई नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गरेको छ। नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित रहनुका साथै लगानीको ढोका खुलेको छ। संघको स्थापना कालदेखि नै हाम्रा अग्रजहरुले गरेको अथक प्रयास र वर्तमान कार्य समितिको निरंतर लबीइंग पछि हामीले गैरआवासीय नेपाली नागरिकता पाउन लागेका छौं। यसलाई एउटा ऐतिहासिक उपलब्धिको रुपमा लिँदै अब बन्ने नयाँ कानूनमा हाम्रा हक, अधिकार सुरक्षित गर्न आआफ्नो ठाउँबाट योगदान गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु,' आचार्यले भने।
उनले उक्त विधेयक पारित गर्न सहयोग गर्ने राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरु, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, नेपाल सरकार, राजनीतिक दलका नेताहरु, कानुनविद्, मिडियालगायत गैर आवासीय नेपाली संघका साथीहरुलाई पनि धन्यवाद दिएका छन्।
सन् २००३ मा स्थापित संघले आफ्नो स्थापना कालदेखि नै गैर आवासीय नेपालीहरुका लागि दोहोरो नागरिकता दिन माग गर्दै आएको थियो। तर, नेपालको भूराजनीतिक अवस्थितिले गर्दा दोहोरो नागरिकता दिन उपयुक्त नहुने भन्ने नेपाली नेताहरुले बताउँदै आएका थिए। नेपालको संविधान २०१५ मा सार्क मुलुकहरुबाहेक अन्यत्र बसोबास गर्ने गैर आवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता दिने प्रावधान पहिलो पटक राखेको थियो।
वि सं २०७५ मा संसद्मा दर्ता गरिए पनि चार वर्षपछि मात्रै उक्त विधेयक संसद्का दुवै सदनहरुबाट पारित भएको छ। अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि उक्त विधेयक कानुन बन्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।