काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनको मिति बिहीबार नै घोषणा गर्न तयार भएका प्रधानमन्त्रीलाई आफूले दुईचार दिन कुर्न भनेको बताएका छन्।
बिहीबार पार्टी निकट पत्रकारहरुसँगको छलफलमा उनले केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताए। 'प्रधानमन्त्रीले फोन गरेर आजको मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति मंसिर ४ गतेका लागि घोषणा गर्ने तयारी गरेको छु, तपाईंसँग सल्लाह गरौं भनेर फोन गरेको भन्नुभयो', प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी पत्रकार दयानिधि भट्टले भने, 'नागरिकता लगायत केही महत्त्वपूर्ण विधेयक अझै विचाराधीन छ। त्यो पारित गरौं। अनि एकदुई दिनमा निर्वाचनको मिति घोषणा गरौंला भनेँ।'
भेटमा प्रचण्डले बिहीबारको स्थायी कमिटी बैठकमा आफूले गरेको ब्रिफिङबारे पनि पत्रकारहरुलाई सुनाएका थिए। उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेस लगायतका दलसँग गठबन्धन हुने भएकाले नेताहरुलाई गठबन्धनको विपक्षमा अभिव्यक्ति नदिन भनेको सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।