काठमाडौं- नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। त्यसका लागि आन्तरिक तयारी तीव्र पारिएको छ। वसन्तपुरबाट दिउँसो २ बजे प्रदर्शन सुरु गर्ने तय गरिएको छ।
एमालेले पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन निर्देशन दिएको छ।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महंगीले जनता ठूलो मारमा परिरहेका र सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्नुपर्ने बताए।
उनले जनप्रदर्शनका लागि राम्रो तयारी गर्न र संगठित शक्तिलाई परिचालन गर्न निर्देशन दिए। बैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शन प्रभावकारी बनाउन निर्देशन दिए।
उनले भने, ‘पार्टीको संगठित शक्ति परिचालन गरी बढीभन्दा बढी जनता सडकमा उतार्न सबै जनसंगठन र उपत्यकाभित्र रहेका सबै पार्टी कमिटीले विशेष ध्यान दिनुपर्छ।’
मुलुकमा महंगी र भ्रष्टाचारव्याप्त रहेको र सरकारका बेथितिहरूकाविरूद्धमा एमाले सडकमा उत्रेर आवाज उठाउँछ भन्ने सन्देश यस प्रदर्शनले दिनुपर्ने बताउँदै महासचिव पोखरेलले सरकारका बेथिति र गलत कामकाविरूद्ध जनतालाई जागरुक बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे। त्यसका लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने उनको भनाइ छ।
पार्टी स्थायी कमिटी सदस्य तथा जनप्रदर्शन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।