काठमाडौं- राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले आमाको थर र ठेगाना रोज्दा पुग्ने व्यवस्थाले भान्जाभान्जीको संख्या बढ्ने बताएका छन्।
नागरिकता ऐन २०६३ संशोधन विधेयकमाथि संशोधन राख्दै उनले यस्तो बताएका हुन्। विधेयक पास गर्नुमात्रै ठूलो कुरा नभइ कार्यान्वयन गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै उनले भने, 'पहिचानसहितको नागरिकताका सकारात्मक पक्ष पनि होलान्। आमा र बाबुको थर र ठेगाना रोज्न पाउने भनिएकोमा मेरो संशोधन छ। यसबाट बिहे गरेर भारत गएका चेलिहरुका सन्तान (भान्जाभान्जी) बढ्ने हो।'
थर वंशज र पुर्खासँग जोडिएको विषय बताउँदै हल्का रुपमा नलिन उनले अनुरोध गरेका छन्। यसैगरी विदेशी महिलाले नेपालीसँग विवाह गर्नेबित्तिकै नागरिकता दिने प्रावधान गलत रहेको उनको भनाइ छ।
उनले भने, 'सात वर्षपछि दिनुपर्छ भनेर प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको प्रतिवेदनमा छ। मेरो ५ वर्षको प्रस्ताव छ। त्यतिन्जेल सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका लागि आवासीय पत्र दिनुपर्छ।'
उनले नागरिकता माटोप्रतिको निष्ठा र इमानदारिता पनि भएको बताउँदै आफ्नो संशोधन स्वीकार हुनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।