काठमाडौं– संसदीय समितिले सञ्चार प्रविधिको पूर्वाधार निर्माण व्यवस्थित गर्ने युटीलीटी कोरिडोरसम्बन्धी विधेयक तत्काल पेस गर्ने निर्देशन दिएको छ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले यस्तो निर्णय दिएको हो। समितिले नेपाल टेलिकमको सेवा गुणस्तर र ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयनको अवस्थाको बारेमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग छलफल गरेको थियो।
छलफलपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले आम नागरिकलाई अपरिहार्य भइसकेको सञ्चार सम्बन्धी सेवाहरु सुरक्षित रुपमा विस्तार गर्ने, खानेपानी, ढल, विद्युत् र सडक विस्तारका कार्यले सञ्चार प्रविधि सम्बन्धी भूमिगत उपकरणहरुमा क्षति रोक्नको लागि सरकारले तत्काल युटीलीटी कोरिडोर सम्बन्धी विधेयक पेस गर्नुपर्ने बताइन्।
नेपाल टेलिकमको सेवा विस्तार गर्न गुणस्तरमा सुधार ल्याउन टेलिकमको बीटीएस टावर पनि सँग–सँगै उपयुक्त स्थानमा जडान गर्दै जानुपर्ने जरुरी रहेको उनको भनाइ छ।
सभापति खड्काले सरकारका विभिन्न निकायहरुबाट निर्माण गरिने भवनहरुमा नै बीटीएस टावरहरु जडान गर्न मिल्ने गरी आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइन्।
नेपाल टेलिकम सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकको आवश्यकता अनुरुपको बनाउने टेलिकमका २२८ वटा टावरमार्फत ‘फोर जी’ सेवा विस्तार गर्ने चालू आवको कार्ययोजना १५ दिनभित्र तयार पारी समितिमा पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।