काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले 'क्रान्तिकारी देखिन' खोज्ने गल्ती आफूहरुले नगरेको बताएका छन्।
काठमाडौं महानगरपालिकाको बजेट सार्वजनिक भएको र आफूहरुले सर्वसम्मतले पारित गरेको उल्लेख गर्दै उनले बजेट पारित गराउन या कार्यान्वयन गराउन सहकार्यको विकल्प नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत शाहले आफूहरुले बजेट निर्माणताका महानगरको प्राथमिकता तय गरेको उल्लेख गर्दै तत्काल परिवर्तन गर्ने आवेशमा र 'क्रान्तिकारी देखिन' सबै कुरामा एकसाथ प्रहार गर्ने वा एक्लै हिडेर पुग्न खोज्ने गल्ती नगरेको बताएका छन्।
'पुराना किसिमका बजेटका शिर्षकहरु'लाई यसपाली पनि निरन्तरता दिएका छौँ । र, भविष्यका लागि सकारात्मक आधार बन्ने केहि नयाँ शिर्षकमा बजेट थपेका छौँ' उनले भनेका छन्।
महानगरवासीका र महानगर स्वयंका पनि सिमा र बाध्यताहरु रहेको र ति सबैबाट छुट्टै र महान उद्देष्य र प्राथमिकता रहेको उनको भनाइ छ।
अहिले फोहोर व्यवस्थापनलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भनेका छन्, 'शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरिय सेवा पुग्न सक्ने बनाउँन सो क्षेत्रमा तीन गुणासम्म बजेट वृद्धि गरेका छौँ। यस्ता धेरै कुराहरु छन्, जसमा आलोचना वा प्रशंसा दुवै आउन सक्छन्। ति सबै कुराहरुको स्वागत गर्दछौँ।' उनले महानगरबासीलाई बजेट पढ्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।