काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिँदै छ। त्यसका लागि बिहीबार दिउँसो समितिको बैठक बस्दै छ।
समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार बैठक बिहीबार साढे १२ बजे बस्नेछ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने तयारी गरेको सचिव अर्यालले बताए।
विभिन्न व्यक्तिसँग लिइएको बयान, अर्थ मन्त्रालयको सीसीटीभीको रिकभर रिपोर्ट लगायत विषयलाई समेटेर प्रतिवेदन तयार गरिने छ।
प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको समितिका सचिव अर्यालको भनाइ छ। यद्यपि, सदस्यहरुले आ–आफ्नो राय भने राख्न पाउनेछन्।
पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलोपटकको म्याद साउन ५ गते सकिएकोमा पुन: ७ दिनका लागि थप गरिएको थियो। समितिले अब म्याद थप गर्नका लागि आग्रह नगरी दोस्रो पटकका लागि थपिएको समयमै प्रतिवेदन बुझाउने तयारी गरेको छ।
समितिमा संसद्को सबैभन्दा ठूलो तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन्।
सत्ता गठबन्धनका दल नेपाली कांग्रेसबाट मानवबहादुर विक र सीताराम महतो, माओवादी केन्द्रबाट देव गुरुङ र शक्ति बस्नेत, एकीकृत समाजवादीका सरला यादव र जसपाका सुरेन्द्र यादव सदस्य छन्। यस्तै, लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।