काठमाडौं- संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आउँदै छन्।
दुई दिने नेपाल भ्रमणका लागि उनी बिहीबार दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ।
लु काठमाडौं आए लगत्तै एउटा अवार्ड वितरण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। तर उनको भ्रमणबारे परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित अमेरिकी दूतावासले औपचारिक जानकारी दिएका छैनन्।
उनले नेपालमा रहँदा उच्च राजनीतिक भेटवार्ता गर्ने सम्भावना रहेको छ। सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको केही समयपछि लु काठमाडौं आउन लागेका हुन्।
मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने पत्र पठाउने निर्णय गरिको भए पनि अहिलेसम्म पत्राचार गरिएको छैन।
उनले यसअघि पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुन अघि नेपाल भ्रमण गरेका थिए। मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटघाट गरेर एमसीसी अनुमोदनका लागि दबाब दिएको बताइएको थियो।
यसैबीच संसदीय समितिले सरकारलाई एसपीपी अस्वीकार गरेको पत्र नपठाउनाको कारण माग गरेको छ। बुधवार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।