काठमाडौं– नेकपा एमालेका नेता डा भीमबहादुर रावलले एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आफैं लागिपरेको आरोप लगाएका छन्।
बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालमा कार्यान्वयन गर्न लागेको आरोप लगाए।
प्रधानमन्त्री उक्त सम्झौतमा भएका बुँदाहरु कार्यान्वयन गर्न लागिनपरेको भए एसपीपी कार्यान्वयन नगर्ने भन्ने मन्त्रिपरिषद्को निर्णयसहितको पत्र अमेरिकालाई किन नपठाएको भन्दै प्रश्न गरे। संसदीय समितिले पटक–पटक निर्देशन दिँदा पनि पत्र नपठाउनुले गम्भीर आशंका उब्जाएको उनको भनाइ छ।
उनले भने, ‘पत्र नपठाउनु गम्भिर आशंकाको विषय हो। चर्चा भए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरु कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग। यस्तै कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समय अगाडि एसपीपीको सम्बन्धमा जुन दश बुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरुलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशील हुनुहुन्छ भन्ने व्यापक चर्चा छ। यदी यो चर्चा असत्य हो भने म यहीँबाट यो सरकार, यसका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु। उहाँले पत्र पठाएर यसलाई झुठा सावित गर्नुस्।’
रावलले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आरोपसमेत लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।