काठमाडौं– गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कूल ६ हजार ७ सय ४३ वडामध्ये जम्मा ६९ वडामा मात्र महिला वडा अध्यक्ष निर्वाचित भएका छन्।
निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचन २०७९को निर्वाचन परिणाम तथा निर्वाचन खर्च’ सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्यांक उल्लेख गरेको छ।
आयोगले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस जम्मा २ हजार ६ सय ६८ वडा अध्यक्ष पदमा निर्वाचित भएको छ। जसमध्ये जम्मा २५ जनामात्र महिला वडा अध्यक्षका रुपमा निर्वाचित भएका छन्।
त्यस्तै नेकपा एमाले जम्मा २ हजार १ सय ३७ वटा वडाको नेतृत्व गर्नलाई जनताबाट अनुमोदन भएको छ। त्यसमध्ये २२ जना महिलाले वडा अध्यक्षको रुपमा वडा हाँक्न जिम्मा पाएका छन्।
यसैगरि माओवादी केन्द्रले जम्मा १ हजार ५३ वडा अध्यक्ष पदमा जित हाँसिल गरेको छ। त्यसमध्ये १२ जना मात्र महिला वडाको नेतृत्वमा निर्वाचित भएका छन्।
त्यस्तै १ सय ९० वडामा वडा अध्यक्ष जितेको एकीकृत समाजवादी पार्टीबाट जम्मा २ जना महिला मात्र वडा अध्यक्षका रुपमा निर्वाचित भएका छन्।
एक सय तीन वटा वडाको अध्यक्ष पदमा निर्वाचित लोकतन्त्रिक समाजवादी पार्टीबाट ३ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका छन्।
यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट १ जना महिलाले वडा अध्यक्ष पदमा जित हाँसिल गरेकी छन्। यो पार्टीले जम्मा १४ वटा वडामा अध्यक्ष पद जितेको छ।
एउटा मात्र वडाको अध्यक्ष पदमा जित हाँसिल गरेको बहुजन एकता पार्टीबाट महिला निर्वाचित भएकी छन्। स्वतन्त्र उम्मेदवारी दिएका ३ जना महिलाले वडा अध्यक्ष पदमा जित हाँसिल गरेका छन्।
जम्मा १ सय ३७ जना स्वतन्त्र उम्मेदवार वडा अध्यक्ष पदमा निर्वाचित भएका छन्। यस्तै २ सय ९५ वडामा वडा अध्यक्ष जितेको जनता समाजवादी पार्टीबाट एक जना पनि महिलाले वडा अध्यक्षको नेतृत्व पाउन सकेनन्।
त्यस्तै ६२ वडाको अध्यक्षमा जित हाँसिल गरेको राप्रपाबाट पनि महिला अध्यक्ष शून्य रहेका छन्। यी लगायत २६ वडामा अध्यक्ष पद जितेको राष्ट्रिय जनमोर्चा, समान १९ वडामा अध्यक्ष पदमा जित हाँसिल गरेको जनमत पार्टी र नेपाल मजदुर पार्टी लगायत अन्य साना दलबाट वडाको नेतृत्व गर्न महिलाहरूको संख्या शून्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।